रुसलाई समेट्नुपर्ने मत राखेपछि जी–७ बैठकमा एक्लिए ट्रम्प

काठमाडौं । जी–७ सम्मेलनको पहिलो दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जी–७ सम्बद्ध राष्ट्रका अन्य नेताहरु बीचको विभाजन छरपस्ट भएको छ ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले उच्च औद्योगिक देशहरुको समूहमा रुसलाई फेरि समावेश गर्नुपर्ने धारणा व्यक्त गरेपछि अन्य राष्ट्रका नेताहरुले असहमति जनाएका हुन् ।

रुसले सन् २०१४ मा क्रिमियालाई गाभेपछि उसलाई समूहबाट हटाइएको थियो । तर ट्रम्पले रुसलाई समावेश गर्नुपर्ने मत राखेपछि धेरैले आश्चर्य मानेका छन् ।

ट्रम्पको प्रस्तावको विरोध गर्दै जर्मन चान्सलर एन्जेला मर्केलले क्यानडामा चलिरहेको सम्मलेलनमा उपस्थित युरोपेली युनियनका सदस्यहरु यस्तो प्रस्तावको विरुद्धमा रहेको बताइन् ।

त्यसैगरी, शुक्रबारको सत्रमा ट्रम्प प्रशासनले लगाएको व्यापार शुल्कको विरोधमा पनि बहस भएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोनलाई भेटेपछि ट्रम्पले उनीहरुले व्यापारको बारेमा अलिकति परीक्षण गरेको बताउँदै यसलाई हटाउन अमेरिका तयार भएको बताएका छन् । म्याक्रोनले भने सबै पक्षहरु सहमतिमा आउने विश्वास आफूले गरेको बताए ।

फ्रान्सेली राष्ट्रपतिका सहयोगीलाई उद्धृत गर्दै रोयटर्सले अमेरिका युरोपेली युनियनसँग दुई साताभित्र व्यापारको विषयमा प्राविधिक स्तरमा कुराकानी गर्न सहमत भएको लेखेको छ ।

ट्रम्प र अन्य छ विश्वनेताहरु बीच व्यापारको विषयमा मात्रै नभएर अन्य मुद्दामा पनि मतान्तर छ । जसमध्ये जलवायु परिवर्तन र इजरायल–प्यालेस्टाइनबीचको द्वन्द्व प्रमुख रहेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २६, २०७५     7:49:09 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *