व्यवसायिक भैंसीपालनमा दलित समुदाय


सुर्खेत, २३ जेठ / सुर्खेत वीरेन्द्रनगर १ का ५० घरधुरी दलित समुदायले व्यवसायिक भैंसीपालनको शुरुवात गरेका छन् । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसीपालनमा जुटेका हुन् ।
दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैंसी अनुदान दिइएको हो । स्थानीय रामकला सार्कीले विगतमा आफूहरुको दूध बजारमा नबिक्ने हुँदा भैंसीपालन गर्न डराएको अनुभव सुनाउनुभयो । पहिले हाम्रो दूध बिक्थेन, त्यसैले खेतबारी भएपनि भैंसी पाल्थेनौं, उहाँले भन्नुभयो, आजभोलि विभेद पनि कम हुँदै गएको छ, डेरीबाटै दूधको माग हुने गरेकाले बजारको समस्या छैन् । सिर्जनशिल कृषक समूहले बजार व्यवस्थापनका लागि सहजीकरण गर्ने भएको छ ।
अति विपन्न दलित समुदायहरुले सित्तैमा दुहुनो भैंसी पाएपछि खुसी भएका छन् अर्का स्थानीय राजु नेपालीले दूध बेचेर राम्रो आम्दानी गर्ने बताउनुभयो । वीरेन्द्रनगरमा दूधको अभाव रहेकाले बजारको समस्या नरहेको उहाँको भनाई छ । ‘दूध सिधै डेरीले किन्ने प्रतिवद्धता जनाएकाले बजारको समस्या हुनेछैन्’ राजुले भन्नुभयो, पहिलेजस्तो दलित समुदायको दूध भनेर हेँला पनि हुने अवस्था छैन्, त्यसले गर्दा खुसी छौं ।’
वडाध्यक्ष गगन सुनारले दलित समुदायको जीविकोपार्जन सुधारका लागि भैंसीपालन नै उपयुक्त विकल्प भएको बताउनुभयो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बितरण गरियका भैंसीको औषधिउपचारको व्यवस्था गर्ने अस्पतालका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो  । प्रदेशसभा सदस्य रातो कामीले दलित समुदायले केही गरेर देखाउनुपर्ने बेला आएको धारणा राख्नुभयो ।
भैंसी हस्तान्तरण गर्दै भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गर्नुभयो । अनुदान सदुपयोग गरेमा दलित बस्तीको नमूना विकास गर्ने पक्षमा सरकार तयार रहेको उहाँको भनाई थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६     11:52:39 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *