डोल्पाको सुन्दरतामा भेरी कोरिडोर

डा. दीपेन्द्र रोकाया

हामी २०७७ असोजको १४ गते सुर्खेतबाट डोल्पा उक्लेका थियौँ । त्यो विहान बर्दिया निकुञ्जमा पाटेबाघसँग जम्काभेट भयो । उ चुपचाप आफ्नो बाटो लाग्यो । साइत शुभ भयो । हुम्लाबाट आएको जहाज चढेर नेपालगञ्जबाट जुफाल पुग्यौ । जुफालले चिसो हावा उपलब्ध गरायो ।

हाम्रो गन्तव्य से–फोक्सुन्डो थियो । रुपगाडतिर जाँदै थियौ । बीचमा ट्राफिकले दु:ख दिएको नाममा चक्काजाम गर्दै गरेका गाडी चालकहरुको लाइन भेटियो । संयोगले हाम्रो गाडीमा ट्राफिकका असइ रहेछन् । उनको सहजीकरणपछि बाटो खुल्यो । रुपगाड पुग्यौ । काठको पुल भाँचिएकाले त्यहाँबाट हाम्रा एघार नम्बरका गाडी गुडायौँ । सुलीगाड पुलमा पुग्दा हाम्रो पथ प्रर्दशक नवराज रोकाया भेटिए ।

सुलीगाडको पुल तरेर से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ स्थापित सैनिक क्याम्पबाट खोलैखोला उत्तरतिर लाग्यौ । कागनी पुगेपछि सुमित्रा होटलमा खाना खायौ । दिउँसो ढिलो भएकाले खाना लाग्यो । एकछिन चौरमै निदाएँ । साँङ्टा खोला पुग्दा विद्युत गृह देखियो । यो चाँहि यार्सागुम्बा संकलकहरुबाट कर उठाएर निर्माण गरिएको विद्युत गृह हो भनी सुन्दा खुशी लाग्यो । हामी छेप्कामा बास बस्यौ । यहाँको मिठो निद्राले ज्यानलार्इ थप तन्दुरुस्त बनायो ।

विहानी उज्यालोसँगै बाटो लागेका थियौ । संदुवा सैनिक क्याम्प भएको तिरबाट जुम्ला जान सकिने जानकारी मिल्यो । र्याँची गाउँ पुग्दा कोही पनि भेटिएनन् । यहाँ दाँते ओखर झारेर खान पाइयो । साइजलस्थित सम्झना होटलमा विहानको खाना खाएपछि तापरिजाको बोर्डिङ स्कूल¸ चुलुवारको झरना होटल हुँदै पोलामको सुनसान बस्ती पुग्यौ । यो रिग्म गाउँको हिउँदे बस्ती रहेछ । हामी उकालो लाग्दै थियौँ । हावाले हाम्रो नाडी छाम्दै थियो । त्यसमा भीरको बाटो आयो । वारी भीर¸ पारी भीर¸ माथि भीर¸ तल भीर । अप्ठेरो ठाउँमा सल्लाको भाटो अढ्याएर त्यसमा पर्खाल लगार्इ बाटो बनाएको देख्दा आङ सिरिङ्ग नहुने कुरै भएन । जता हेरे पनि भीरैभीर छ । धन्न ! यो पदमार्ग प्रदेश सरकारले यसै वर्ष बनाएकाले यति सहज भएको रहेछ ।

दिउँसो साढे ३ बजे रिग्म गाउँमा पुग्यौ । सबैका मुखबाट स्वर्गको वयान हुन थाल्यो । एकछिन अघिको विदो आकाश एकाएक हामीलार्इ घेरेर हिउँ झार्ला झै गर्न थाल्यो । यसलार्इ प्रकृतिको स्वागत हो भनी साथीहरुलार्इ उत्साहित बनाएँ । हामी फोक्सुन्डो ताल हेर्न गयौ । यो ताल चुपचाप काला पत्थरको मुन्तिर सास फेरिरहेको देखियो । हामीले साइड¸ साइडमा घुम्दै तस्वीर लियौ । तालको छेउमा करिव ६ सय वर्षअघि निर्माण भएको थासुङ छोलिङ गुम्वा पुगियो । यो गुम्बाको निर्माण¸ मर्मत र सञ्चालन यहीका बासिन्दाले आस्थाअनुसार गरेका रहेछन्। यसमा सरकारबाट पनि सहयोग भएको रहेछ । गुम्बामा बत्ती बलिरहेका थिए । पुणिमाको साँझ भएकाले हामीले पनि बत्ती बाल्न सघायौ । साँझ परेपछि फोक्सुन्डो उपत्यकालार्इ नियाली रहुँजस्तो भयो । गुम्बाको उत्तरी पहाडमा पनि एउटा दुलो देखियो । पहाडका टुप्पाहरु हेर्दा कोही मन्दिर¸ कोही गुम्बा र कोही मस्जिदजस्ता देखिन्थ्ये । तालले हानेको छाल र आफ्नै फोक्सोले फेरेको सास उस्तै¸ उस्तै लाग्यो ।

खाना खाँदै थियौ¸ रिग्मका वडा अध्यक्षको निम्तो आयो । उनको आँगनमा पुग्दा रिग्मवासीले स्याब्रु नाचबाट स्वागत गरे। कोभिड–१९ ले गर्दा स्थगित पर्यटन वर्ष भएकाले रिग्म गाउँको चहलपहल पहिलेका वर्षहरुभन्दा सुनसान थियो । तर आज मात्र रमझम भएको सुनियो । संयोगले हामीहरुका साथै उत्तर पश्चिम पृतनापति विज्ञान देव पाण्डे¸ प्रदेश पर्यटन सचिव डा. कृष्णप्रसाद आचार्यको टिम त्यसैदिन त्यहाँ पुगेको थियो । रातभरी जून चम्की रह्यो । झ्यालबाट बाहिर हेर्दा आनन्द लाग्दथ्यो ।

फोक्सुन्डोबाट फर्कदा नावरको बगाललार्इ नजिकबाट नियाल्न पायौ । उनीहरुले यहाँ मान्छेसँग डराएको देखिएन । यो मित्रता शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज स्थापना भएकाले कायम भएको हो । त्यो दिन कागनीमा बस्यौ । अर्को दिन दुनैमा बस्यौ । दुनै पुग्नुअघि हामीलार्इ से–फोक्सुन्डो निकुञ्जमा चीया खाने निम्तो थियो । वार्डेन सरोजमणि पौडेल र सहायक वार्डेन गोपाल खनालसँग निकुञ्जभित्र गर्न सकिने विकास र विकास गर्दा ध्यान दिनुपर्ने पक्षका विषयमा छलफल भयो । उहाँहरुले निकुञ्जको सहमतिविना २९ वटा कार्यक्रम आएको र निकुञ्जभित्र जबरजस्ती डोजर समेत चलाउन थालेको जानकारी दिनुभयो । निकुञ्जभित्रका वासिन्दाका लागि विशेष शिक्षा¸ स्वास्थ्य र अग्राधिकार दिनुपर्ने देखियो । हामी दुनै पुगेको खबर गगन लुवारले फेसबुक हेरी थाहा पाएका रहेछन् । उनले हामीलार्इ दुनै बजार घुमाए ।

जिल्ला समन्वय समितिको सहजीकरणमा हामीले २०७७ असोज १८ गते आइतवार विहान डोल्पामा प्रदेशका योजना कार्यान्वयन सम्बन्धी नीतिगत छलफल गर्यौ । जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जिल्ला सभाबाट पारित गरी प्रदेशमा पठाएका योजना समावेश नभएकोमा गुनासो गर्नुभयो । जिल्ला समन्वय अधिकारीका रुपमा स्रोत नभएकाले कोही पनि बस्न नमानेको अनुभव सुनाउँदै उहाँले यस कार्यालयको घेरवारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

त्रिपुराकोट नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले पञ्चायत¸ बहुदल र संघीयतामा विभिन्न पदमा काम गर्न पाएको अनुभव सुनाउँदै मेयर बनेर काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।उहाँले संघीयताका कारण आफुले जे सोच्यो¸ त्यही गर्न पाएको र जनतालार्इ खुशी बनाउन सफल भएको अनुभव सुनाउनु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो–×पहिलो वर्ष ८५ हजार वुटा स्याउ खेती गर्न लगाएँ । दोस्रो वर्ष भारतको महाराष्ट्रबाट १६ हजार अंगुरका बुटा ल्याएर लगाउन लगाएँ । यो फल्ने बेला भएकाले सडक र पुलको माग जोडदार रुपमा गरिरहेको छु । डोल्पा पुग्नलार्इ ५ वटा पुलमा ४ वटा पुलको टेन्डर भएको र छलगाडको पुलको अध्ययन भइरहेको भन्ने सुनिन्छ ।कोल्डस्टोर र वाइन फ्याक्ट्री बनाउँछु । यो वर्ष शिक्षामा सुधार गर्ने योजना बनाएको थिएँ । कोरोनाका कारण लगडाउन भैगयो । अब म बाइस सय किसानलार्इ मल दिइ उत्पादन बढाउन कम्पोष्ट मल बनाउन लागेको छु । आफ्नो कार्यकालमै नाङ्गो डाँडामा डालेचुकको जङ्गल बनाउने योजना बनाएको छु । मैले भन्या काम गर्या सुखी हुनेछौ¸ नगर्या दु:खी हुनेछौ भनी सकेको छु।”

यस्तै कार्ययोजना अरु स्थानीय तहका पनि छन् र हुनु पर्दछ भन्ने लाग्दछ । कार्यक्रममा ठुलीभेरीका उपप्रमुख योगेन्द्रबहादुर शाही¸ त्यसै नगरपालिकाको वडा नं ३ का वडाअध्यक्ष कर्णबहादुर न्यौपाने¸ त्रिपुराकोटका प्रशासकीय अधिकृत प्रिति भट्ट गिरी¸ कृषि कार्यालयका गोरबहादुर बुढा¸ सामाजिक विकास कार्यालयका धनञ्जय आचार्य¸ वागमानी विकास केन्द्र जुफालका प्रमुख सम्पति बुढा¸ पशु सेवा कार्यालयका नवराज न्यौपाने¸ घरेलुका अभयराज रेग्मी¸ डिभिजन वन कार्यालयका जीतेन्द्र महत¸ खानेपानीका र्इ. नविन थापा र पूर्वाधार कार्यालयका टोपेन्द्रध्वज हमालले डोल्पामा भर्इरहेको विकास निर्माण प्रक्रिया र कार्यरत जनशक्तिको बारेमा जानकारी दिनुभयो ।

अन्तर पार्टी महिला सञ्जालका संयोजक विष्णु रोकायाले विकास निर्माणका कार्यक्रम कसरी छनौट भर्इ लागु हुन्छन् भन्ने कुरा थाहा नभएको प्रतिक्रिया दिनुभयो । यसै कार्यक्रममा उधोग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढाले भने जिल्लामा विकास बजेट धेरै आएको तर उपलब्धी कम भएको¸ बजेटको सदुपयोग गर्न अनुगमन प्रभावकारी हुनपर्ने र संघीयताको प्राण भनेको प्रदेश सरकार भएको अनुभव सुनाउनुभयो । पत्रकार विष्णु बुढाले सुशासनको बारेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लामा प्रदेश सरकारका कार्यालय स्थापना भएको¸ एक करोडभन्दा तलको योजनामा डोजर नलगाउने नीति राम्रो भएको¸ बजेट कार्यान्वयन कार्य तालिकासहित आउनुपर्ने र योजना छनौटको प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्नपर्नेमा जोड दिनुभयो ।

सबैका कुरा सुनेपछि योजना आयोगका तर्फबाट योगेन्द्रबहादुर शाही र मैले समग्र प्रदेशको विकासको लागि बनाइएको प्रथम पञ्चवर्षीय योजना र हालका अभ्यासका सन्दर्भमा आ–आफ्ना भनार्इ राख्यौ । मैले कर्नाली सोँच¸ २१०० का साथै पाँच वर्षमा लखपति र दश वर्षमा करोडपति बन्ने योजना सुनाएँ । सहभागीहरुको मुहारमा उज्यालो आएको देखेँ । समृद्ध कर्नाली¸ सुखारी कर्नालीवासी बनाउनका लागि हरित अर्थतन्त्रका माध्यमबाट अर्गानिक कर्नाली स्थापित गर्नुछ ।

हामीले दुनैबाट सुलिगाड¸ सुलिगाडबाट त्रिपुराकोटसम्म नगर प्रमुख ओमबहादुर बुढासँग यात्रा गर्यौ । उहाँले मातृसत्तामा स्थापित त्रिपुराकोट मन्दिर पुर्याउनुभयो । प्रदेश सरकारबाट दिइएको बजेटले बन्दै गरेका संरचनाले कर्नालीको एउटा गन्तव्य सुनिश्चित भएको देखियो । अघिल्लो वर्ष यहाँ पुग्दा बजेट माग भएको थियो¸ यतिबेला कार्यान्वयन सन्तोषजनक रुपमा भर्इरहेको पाइयो । त्यसपछि मैले यसै क्षेत्रका सहिद नन्द न्यौपानेका ९४ वर्षका बुवा र आमालार्इ भेटेँ । उहाँहरुसँगको भेटघाट आत्मीय र भावनात्मक रह्यो ।

हामीले भेरी कोरिडोरमा स्थलगत यात्रा गर्दा केही चालकले मुखै फोरेर “३५ मिनेटमा खुरुक्क जहाज नचढी यस्तो बाटो रोज्ने मूर्खै हौ तिमीहरु” भनी टिप्पणी गर्न पनि भ्याए । यो उनीहरुको बुझार्इको कुरा हो । तर हामी उद्देश्यसहित यात्रा गरिरहेका थियौ । यसैले त्रिपुराकोटबाट खदाङ¸ खदाङबाट करबगाड¸ करबगाडबाट तल्लु र तल्लुबाट रुकुम राडीज्युलासम्म भाडाको गाडी लिएर यात्रा गर्यौ । भाडामा गाडीवालाको तजविज एउटा कुरा छ¸ त्यसमा कच्ची र भीरको बाटो हुनाले यात्रा जोखिमपूर्ण थियो । राडीज्युलाबाट हामी आफ्नै गाडीमा रिम्ना¸ सिम्ली¸ चौरजहारी¸ सल्ली भएर सुर्खेत पुग्यौ ।

भेरी कोरिडोरको यात्राले के अनुभव भयो भने भेरीको किनारै किनारको बाटोले कर्नाली प्रदेशको पूर्वी क्षेत्रको समृद्धिको ढोका खुली सकेको छ । यस सडकमा आवश्यक पुल र स्तरोन्नति हुन सकेमा शे–फोक्सुन्डो¸ क्याराभान फिल्म र यार्सागुम्बाले चिनिएको डोल्पाको सुन्दरतामा सबैलार्इ रमाउने अवसर भेरी कोरिडोरले सहज बनाउनेछ । यसैगरी हिमाली सडकले डोल्पाबाट मुस्ताङ जोडेपछि हिमाली क्षेत्रबाट पोखरा हुँदै काठमाडौ छिटो पुग्न सकिने देखिएको छ ।

(लेखक कर्नाली प्रदेश योजना आयोगका सदस्य हुनुहुन्छ ।)

प्रकाशित मितिः बिहिबार, कार्तिक २७, २०७७     5:35:26 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *