सुर्खेतका स्थानीयतहको वजेट खर्च ७८ प्रतिशत


दीपेन्द्र शर्मा
सुर्खेत १२, साउन/सुर्खेतका स्थानीयतहहरुले आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास वजेट खर्च गरेका छन ।
कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७÷०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन । सुर्खेतमा पाँच वटा नगरपालिका र चार वटा गाँउपालिका रहेका छन ।
आ.व २०७७÷०७८ को कुल रु ६ अर्व ६१ करोड ५० लाख ५२ हजार मध्ये रु पाँच अर्व १५ करोड ६४ लाख ९७ हजार खर्च भएको हो ।
जसमा पालिकाहरुको चालु तर्फ रु तिन अर्व ८७ करोड ७२ लाख ७० हजार मध्ये तिन अर्व २९ करोड ५५ लाख १३ हजार तथा पुजिगत तर्फ रु २ अर्व ७३ करोड ७२ लाख ६२ हजार मध्ये रु १ अर्व ८६ करोड नौ लाख ८३ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका कोष नियन्त्रक मदन मगरातीले जानकारी दिनुभयो । स्थानीयतहमा नेपाल सरकार र प्रदेश सरकारवाट समानीकरण, ससर्त, विशेष, समपुरक अनुदान आउने भएकोले रकम वढि देखिने गरेको मगरातीको भनाई छ ।
१ अर्व ४६ करोड रकम फ्रिज
सुर्खेतका स्थानीय तहको वजेट अन्तरगत आ.व.२०७७÷०७८ मा २२ प्रतिशत वजेट फ्रिज भएको छ । आ.व.२०७७÷०७८को असार महिनाको अन्तिमको खर्चलाई हेर्दा २२ प्रतिशत अर्थात रु १ अर्व ४५ करोड ८५ लाख ५४ हजार रकम फ्रिज भएको हो । यस्तै चालु तर्फ रु ५८ करोड १७ लाख ५७ हजार र पुजीगत तर्फ रु ८७ करोड ६२ लाख ७९ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । कोष नियन्त्रक मगरातीका अनुसार यो खर्च भनेको नेपाल सरकार मातहतका कार्यालय र प्रदेश सरकार मातहतका कार्यालयहरुको वाहेकको हो । प्रदेश मातहतका कार्यालयको निकाशा छुटटै कार्यालय प्रदेश लेखा नियन्त्रक कार्यालयले दिने गरेको छ ।
सिम्ताले गरयो सबैभन्दा वढि खर्च
सुर्खेतका स्थानीयतहहरुमा सवैभन्दा वढि खर्च गर्नेमा सिम्ता गाँउपालिकाले ८४ दशमलव ५२ रहेको छ भने सवै भन्दा कम खर्च गर्नेमा भेरीगंगा नगरपालिकाले ७१ दशमलव ३३ प्रतिशत रहेको छ । त्यस्तै पञ्चपुरी नगरपालिकाले ८२ दशमलव ०१ ,गुर्भाकोट नगरपालिकाले ८० दशमलव २४, चौकुने गाँउपालिकाले ७९ दशमलव ३२,वीरेन्द्रनगर नगरपालिकाले ७८ दशमलव ०८, लेकवेशी नगरपालिकाले ७७ दशमलव ०७, चिङ्गगाड गाँउपालिकाले ७५ दशमलव ८५, र वराहताल गाँउपालिकाले ७२ दशमलव ६६ प्रतिशत खर्च गरेका छन ।
सुर्खेतमा रहेका नेपाल सरकार मातहतका कार्यालयहरुले आ.व. २०७७÷०७८ मा चालु तर्फ ९० र पुजिगतमा ७५ प्रतिशत खर्च गरेका छन । कार्यालयहरुको चालु तर्फ रु २५ अर्व २६ करोड मध्ये रु २३ अर्व आठ करोड खर्च भएको छ भने पुजिगत तर्फ रु चार अर्व ९० करोड मध्ये रु तिन अर्व ६८ करोड खर्च गरेका छन । नेपाल सरकार मातहतका कार्यालयहरु, नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न ६४ वटा कार्यालय रहेको मगरातीले वताउनुभयो ।
एक अर्व ७० करोड राजश्व संकलन
आ.व २०७७÷०७८ मा सुर्खेत जिल्लामा रु एक अर्व ७० करोड ४८ लाख ९३ हजार राजश्व संकलन भएको छ । अग्रीम आयकर, भ्याटको रकम,सामजिक सुरक्षा कर, मालपोत, प्रशासनिक दण्डजरिवाना तथा अन्य प्रशासनिक शुल्क तथा कर र गैर कर राजश्व संकलन भएको कोष नियन्त्रक मगरातीले वताउनुभयो । आ.व ०७६÷७७ मा रु एक अर्व २८ करोड ९८ लाख ८१ हजार आन्तरिक राजश्व संकलन भएको मगरातीले जानकारी दिनुभयो ।
संघिय सरकारद्धारा संचालीत योजना तथा कार्यक्रमको समयमा ठेक्का नहुनु, कोभिड महामारीका कारण कार्यक्रम खर्च नहुनु, दरवन्दी अनुसारका कर्मचारी नहुदा खर्च कम हुने गरेको उहाँले वताउनुभयो ।

प्रकाशित मितिः मङ्लबार, साउन १२, २०७८     6:16:19 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *