
रुकुम पश्चिम, जेठ १५ – मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा आयोजित बहु–विषयगत राष्ट्रिय सम्मेलन २०८३ शुक्रबारदेखि मुसिकोटमा सुरु भएको छ ।
“कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षा ः उच्च शिक्षण संस्थाको भूमिका” भन्ने मूल नारासहित आयोजित दुईदिने सम्मेलनको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलले अनलाइन माध्यमबाट गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति पौडेलले उच्च शिक्षालाई समाज रूपान्तरण, अनुसन्धान प्रवद्र्धन तथा राष्ट्रिय विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कर्णालीजस्तो सम्भावनायुक्त क्षेत्रको विकासका लागि विश्वविद्यालय, अनुसन्धानकर्ता र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले विश्वविद्यालय केवल प्रमाणपत्र वितरण गर्ने संस्था मात्र नभई समाजका समस्या समाधान गर्ने, ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो । साथै विपन्न वर्ग तथा समुदायलाई उच्च शिक्षाको मूल प्रवाहमा कसरी समेट्न सकिन्छ भन्ने विषयमा सम्मेलनले सार्थक बौद्धिक बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सहप्राध्यापक डा. दिपकराज अधिकारी, कर्णाली प्रदेश सरकारका पूर्वसचिव तथा पूर्व विद्यार्थी समाज मुसिकोट क्याम्पसका अध्यक्ष भरतकुमार शर्मालगायतले कर्णालीको शैक्षिक अवस्था, अनुसन्धानको आवश्यकता, समावेशी विकास तथा स्थानीय सम्भावनाको उपयोगबारे धारणा राख्नुभएको थियो ।

क्याम्पस प्रमुख डम्बरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । सम्मेलनमा शिक्षा, व्यवस्थापन, उद्यमशीलता, आर्थिक विकास, मानविकी तथा सामाजिक विज्ञान र सूचना प्रविधिसम्बन्धी विषयमा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत भइरहेको मध्यपश्चिम विश्वविद्यालय, सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।

उद्घाटन सत्रपछि “उच्च शिक्षाको चुनौती र समाधान” विषयक प्यानल छलफलमा गोपीराम केसी, मुकुन्दप्रसाद पोखरेल, कमप्रसाद देवकोटा र शिवप्रसाद ओलीले आ–आफ्ना धारणा राख्नुभएको थियो । मुख्य वक्ताका रूपमा मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. दिपकराज अधिकारी तथा नेपाल खुला विश्वविद्यालयका डा. जीवन खनालले प्रस्तुतीकरण गर्नुभएको थियो ।
यसैगरी, प्राविधिक सत्रअन्तर्गत दुईमुख्य ट्र्याकमा दर्जनौं अध्येताहरूले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलन आयोजक समितिका संयोजक तथा पूर्व क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमका अनुसार सम्मेलनमा शिक्षा तथा शिक्षण पद्धतिगत नवप्रवर्तन, व्यवस्थापन, उद्यमशीलता, आर्थिक विकास, मानविकी तथा सामाजिक विज्ञान तथा सूचना प्रविधिसम्बन्धी विषयमा विभिन्न अनुसन्धान पत्र प्रस्तुत गरिनेछन ।
विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा विभिन्न स्थानीय तह र शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको सम्मेलनमा देशभरका अनुसन्धानकर्ता तथा विज्ञहरूको भौतिक र अनलाइन सहभागिता रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख डम्बरबहादुर खड्काले जानकारी दिनुभयो । सम्मेलनले कर्णाली क्षेत्रको प्राज्ञिक बहसलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको प्रमुख खड्काले वताउनुभयो ।

उद्घाटन अवसरमा विभिन्न कलाकर्मीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीको नेतृत्वमा पञ्चेबाजा तथा मयूर नृत्य टोलीले क्याम्पस परिसरमा सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । उपप्राध्यापक हर्कबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको समारोहको सञ्चालन पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।
