ईश्वरी कुमारी शर्मा बि.एम.
नेपाली समाज बिबिधतामा आधारीत छ । यहाँको भौगोलिक स्थिति संगै रीति परम्परा,संस्कार, संस्कृति, मेलापर्वहरु पनि फरक र मौलिक छन् । बिबिधता भित्र एकता छ । बिबिधतामा एकता नै हाम्रो मौलिक पहिचान हो, हाम्रो गौरव हो । यस्ता थुप्रै मौलिक पर्वहरु मध्ये तीज पनि नेपाली महिलाहरुको प्रिय र महत्वपूर्ण पर्व हो । आज यस पर्वको बारेमा संक्षिप्त रुपमा चर्चा गर्ने कोशिस गरिएको छ ।
तीज पर्वको थालनी कहिले देखि भयो भन्ने बिषयमा हाल सम्म पनि तिथि मिति किटान गर्न सकिएको छैन यद्यपि यो भारत्वर्ष अर्थात् पौराणिक काल देखि शुरु भई परम्पराको रुपमा विकास हँुदै आएको हो भन्ने विश्वास गरिन्छ । मूूलतः यो हिन्दूु नेपाली महिलाहरुले मनाउने विशुद्ध मौलिक पर्व भए पनि हिजोआज सबै नेपाली महिलाहरुको साझा पर्वका रुपमा रहेको छ ।
तीज पर्वले परम्परागत रुप धारणा गरेको प्रसंग केलाउँदा शिव पुराणमा उल्लेख भए अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउनका लागी गरेको बिधिवत् ब्रत र उक्त ब्रतबाट महादेव प्रशन्न भई पार्वतीलाई पत्नीका रुपमा स्वीकार गरेको स्मरण गर्दै मनाउँदै आउँदा परम्पराको रुपमा विकास भएको जनविश्वास एकातिर छ भने अर्को प्रसंगमा श्रीमद्भागवत् महापुराणमा भाद्र कृष्ण अष्टमीमा भगवान् श्रीकृष्णको जन्म भएको र भाद्र शुक्ल तृतियाको दिन एघारौं दिनमा उनको न्वारान अर्थात् नामकरण गरिएको अवसरको रुपमा उत्सव मनाईएको र पछि यही दिनलाई स्मरण गरी मनाउँदै आउँदा परम्पराको रुपमा बिकास भएको भन्ने विश्वास पनि रहेको पाईन्छ ।
उल्लेखित प्रसंग कति तथ्यपरक वा यथार्थ छन् वा छैनन् भन्ने बिषय आफ्नो स्थानमा रहला तथापि यस भित्र सामाजिक परिवेशको सम्पूर्ण चित्र छ, परिवार, नातासम्बन्ध, मिलन विछोड, दया, माया, करुणा, सद्भाव, जन्म देखि मृत्यु सम्मका सम्पूर्ण कृयाकलाप छ । यतिमात्र होईन यस भित्र राजनीतिक चेत छ । विभेद असमानता र उत्पीडनका बिरुद्ध बिद्रोह पनि छ । गलत प्रवृति र संस्कार बिरुद्ध गीतका माध्याम बाट बिद्रोहको उठान गरिएको छ । यस भित्र द्वन्द पनि छ । समाज विकासक्रममा देखिएका समस्या तथा चुनौतिहरु पनि छन् ।
संगसंगै सुधारका पक्षमा समाधानका सम्भावना र उपाय पनि छन् । तीजका गीत भित्रका संपूर्ण पक्षलाई केलाउँदा काल्पनिकता र अतिरञ्जना मात्र होईन यस भित्र वास्तविकता र यथार्तता पनि रहेकोले यो पर्वको सामाजिक, साँस्कृतिक तथा राजनीतिक हिसाबले बिशेष महत्व रहेको छ ।
विगतमा वर्षौदेखि पितृ सत्ताको दबदबामा रहेका महिलाहरुले आफ्ना वेदना पोख्ने माध्याम बनेको थियो तीज पर्व । मिठो मसिनो जे जस्तो वस्तु उपलब्ध हुन्थ्यो त्यसैलाई बाँडीचुँडी खान,े भेटघाट गर्ने एउटा खुल्ला चौरमा जम्मा भई आफ्ना सुख, दुःख वर्ष भरीका भोगाईहरु गीतमा पोखेर मन हलुका पार्ने माध्याम बनेको थियो । त्यहाँ कुनै प्रतिस्पर्धा थिएन । देखासिकी थिएन । कृतिम्ता थिएन । स्वच्छन्द, निष्कपट, स्वतन्त्र ढंगले प्रस्तुत हुने तीजको महत्व र गरीमा लोभ लाग्दो थियो ।
समयको परिवर्तन संगै हाम्रा भोगाईहरु, आवश्यक्ताहरु फरक पर्दै गए । समयको चक्र संगै आधुनिकता र पाश्चात्य संस्कृतिको मिश्रणले हाम्रो संस्कृतिको मौलिकताको खण्डीकरण हुँदै गयो । यस भित्रको सौन्दर्यतामा विकार आउँदै गयो । यस प्रकारको गलत प्रवृतिले तीज प्रति वितृष्णा बढ्दै गएकोे आभाष भैरहेको छ । यो महिलाहरुको खुसियाली साट्ने प्रसंगबाट शुरुवात भएको भएपनि हिजोआज यस भित्र निरासा, कुण्ठा, वितृष्णा, विश्रृङ्खलता, अस्वस्थ प्रतिस्पधार्, आडम्बर जस्ता विषयले प्रार्थमिकता पाएको देखिन्छ । तीजको अन्तर्यमा रहेको सुन्दर पक्षलाई केलाउन नसक्दा यो विकृत, असभ्य र भड्किलो बन्दै गईरहेको छ ।
तीजको महिमा र गरीमा विशेष छ तसर्थ यस भित्र रोदन, क्रन्दन, निराशा, कुण्ठा, वितृष्णा मात्र होईन कि समाज सुधारका विषय गीत भित्र अटाउनु पर्छ । विभिन्न चरणमा भएका महिलाहरुको बिद्रोह र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धी र सफलताको पक्ष पनि समेटिनु पर्छ । भविष्य प्रतिको आशा,उत्साह,हौसला र उत्प्रेरणाका भाव पनि तीज गीतमा समेटिनु पर्छ । संघर्षहरुको समिक्षा गर्दै सवल र सुन्दर पक्षहरुको चित्रण गर्न तीजका गीतले बिर्सनु हँुदैन । हाम्रो भविष्य र अस्तित्वको खोजी गीतले गर्नुपर्छ । तब मात्र तीजले सार्थकता पाउने छ । यही नै आजको अपरिहार्य आवश्यकता हो ।
अन्त्यमा, तीज पर्व मनाउँदै गर्नु भएका दिदी बहिनीहरुमा निराशा र कुण्ठाको परिधीबाट माथी उठेर आपसी सद्भाव, सहकार्य, एकताको भावना जागृत होस् । समाज बिकासको पक्षमा लाग्न प्रेरणा मिलोस् भन्ने कामना गर्दै तीज पर्वको विशेष अवसरमा हार्दिक शुभ–कामना ब्यक्त गर्दछु ।
(लेखक चौरजहारी नगरपालिका रुकुम पश्चिमका उप–प्रमुख हुनुहुन्छ)