वीरेन्द्रनगरमा शैक्षिक सवाल विषयक अन्तरक्रिया

भाद्र २५ सुर्खेत / मंगलबार कर्णाली प्रदेशको राजधानी रहेकोे  वीरेन्द्रनगरमा शैक्षिक सवाल विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)को  अध्यक्षतामा “उपकुलपतिलाई तथा शैक्षिक सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  हो ।
वीरेन्द्रनगर नगरपालिकाको मुटुमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका बीचको आपसी सहकार्य र सहयोगमा यस क्षेत्र र समग्र देशकै शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित शैक्षिक गतिबिधि बारे छलफल र आपसी समझदारी कायम गर्नुनै उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख उदेश्य रहेको थियो ।
उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उप-प्रमुख निलकण्ठ खनालज्यू, प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद जैशीज्यू, सम्पूर्ण वडाका वडा अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, विश्वविद्यालयका पदाधिकारी तथा उप-प्राध्यापकज्यूहरु, नगरपालिकाका कर्मचारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूले विश्वविद्यालय सबैको अपनत्व भएको एक साझा थलो भएकाले आपसी सहकार्य र हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले  विश्वविद्यालयलाई थप उचाईमा पुर्‍याउन तथा यस क्षेत्रको शैक्षिक उन्नयनका लागि नगरपालिका तथा स्थानीय बुद्दिजिवि, समाजसेवी तथा शिक्षाप्रेमी महानुभावहरुको सहयोग र सहकार्य अपरिहार्य भएकोले सबैले आपसी सुमधुर सम्बन्धका साथ् अगाडी पढ्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो ।
नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका अध्यक्ष मोहनमाया ढकाल (भण्डारी)ज्यूले “शैक्षिक प्रशासनिक र पर्यटन शहर, स्वच्छ, स्वस्थ र समुन्नत वीरेन्द्रनगर” नै नगरपालिकाको मूल मन्त्र र नारा भएको तथा शिक्षा प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै मध्यपश्चिम विश्वविद्यालयसंगको सहकार्य अत्यन्तै उच्च महत्वका साथ लिएको उल्लेख गर्नुभएको थियो ।  उहाँले वीरेन्द्रनगर नगरपालिका र समग्र शिक्षा क्षेत्रको विकासमा मध्यपश्चिम विश्वविद्यालयको अहम भूमिका रहेको उल्लेख गर्दै नगरपालिका परिवार सदैव सहकार्य र हातेमालो गर्न तत्पर रहेको उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा नगर-उप प्रमुखज्यू, प्रमुख प्रशाशकियज्यू, वडा अध्यक्षज्यूहरु तथा प्राध्यापकज्यूहरुले विश्वविद्यालय र नगरपालिका एवं वडाहरु बीचको सहकार्य र आपसी सम्बन्ध कसरी प्रभावकारी ढंगबाट अगाडी बढाउन सकिन्छ भन्ने बारेमा आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो । विशेष गरी विश्वविद्यालयका भौतिक संरचना तथा शैक्षिक कार्यक्रमहरुको सम्पूर्ण वडाहरुमा विस्तार एवं समान पहुँच, शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी न्यूनीकरणको चुनौती र बढ्दो युवा विदेश पलायन, सामुहिक सामाजिक सचेतनामुलक कार्यक्रम लगायतका महत्वपूर्ण विषयमा गहन छलफल भएको थियो ।
नगरपालिकाको सभा हलमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रमको संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक प्रकाश लामिछानेज्यूले गर्नुभएको थियो भने नगरप्रमुख लगायत जनप्रतिनिधी एवं नगरपालिका परिवारले उपकुलपतिज्यूलाई स्वागत एवं सम्मान गर्नुभएको थियो  ।
प्रकाशित मितिः 2024-09-10     10:24:26 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *