
रुकुम पश्चिम –
लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभवबाट स्थापित नाम हो मिलन खड्का रोका। किशोरावस्थामै राजनीतिक यात्रा सुरु गर्नुभएकी रोका अहिले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, राङ्जामा २०३२ साल फागुन ८ गते जन्मिनुभएकी रोकाका बुबा दिर्गु खड्का र आमा बर्नी खड्का हुनुहुन्छ। उहाँको स्थायी ठेगाना मुसिकोट नगरपालिका–१३, लामाडाँडा, रुकुम पश्चिम हो ।

रोकाले २०४५ सालमा १४ वर्षको उमेरदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। राप्ती ज्ञानोदय माध्यमिक विद्यालय, सिम्लीमा कक्षा ६ मा अध्ययनरत रहँदा विद्यार्थी संगठनको इकाई सदस्य बनेर उहाँले औपचारिक रूपमा राजनीतिक गतिविधिमा प्रवेश गर्नुभएको हो।
२०५३ सालमा तत्कालीन नेकपा (माओवादी)को पार्टी सदस्यता लिएपछि उहाँको राजनीतिक सक्रियता थप विस्तार भयो। २०५४ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सिम्ली, गरायला, अर्मा, पुर्तिमकाँडा र घेत्मा गाविस समेटिएको एरिया कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।

राजनीतिसँगै उहाँ केही समय शिक्षण पेशामा समेत आबद्ध हुनुभयो । २०५३ साल वैशाखदेखि २०५५ साल भदौसम्म जनसहयोग प्राथमिक विद्यालय, माथिल्लो अमडाँडामा अध्यापन गर्नुभयो। विद्यालयमा कार्यरत रहँदा राजनीतिक गतिविधिका कारण प्रहरीले पक्राउ गर्न खोजेपछि सात महिनाको गर्भावस्थामै उहाँले अध्यापन छाडेर २०५५ साल भदौ ४ गतेदेखि पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा जनयुद्धमा सहभागी हुनुभयो ।
पूर्णकालीन राजनीतिमा प्रवेश गरेको करिब दुई महिनापछि २०५५ साल कात्तिक २ गते सिम्लीको फुक्रुटाकुरामा उहाँका श्रीमान् टिकाराम ओलीसहित ५ जना व्यक्तिको सामूहिक हत्या भएको घटना उहाँको जीवनको अत्यन्त पीडादायी अध्याय बन्यो ।

त्यसपछि पनि रोकाले राजनीतिक तथा संगठनात्मक जिम्मेवारीलाई निरन्तरता दिनुभयो । २०५५ देखि २०५७ सालसम्म पार्टीको पुर्तिमकाँडा र अर्मा गाविस इन्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । २०५६ देखि २०५८ सालसम्म अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला सदस्य, कोषाध्यक्ष, सचिव हुँदै उपाध्यक्ष बन्नुभयो भने २०५८ देखि २०६१ सालसम्म जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो ।
पार्टीको सैन्य अभियानअन्तर्गत २०६१ साल मंसिरमा उहाँ पाल्पा सरुवा हुनुभयो। २०६३ साल चैतसम्म पाल्पामा रहँदा पार्टीको जिल्ला सचिवालय सदस्य तथा एरिया इन्चार्जका रूपमा काम गर्नुभयो। सोही क्रममा २०६३ सालमा अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य बन्दै सल्यान र रुकुम जिल्ला इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।
२०६४ साल असोजमा नेकपा (माओवादी)को मगरात राज्य समिति सदस्यको जिम्मेवारीमा रहनुभएकी रोका २०६८ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सदस्य बन्नुभयो । उहाँले २०७६ सालसम्म रुकुम जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्नुभयो ।
लामो समय पार्टी संगठन र जनस्तरमा काम गरेपछि रोकाको राजनीतिक यात्रा जनप्रतिनिधिको भूमिकातर्फ अघि बढ्यो। २०७८ साल मंसिरमा उहाँ नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश सदस्य बन्नुभयो । राजनीतिक यात्रा सुरु गरेको ३४ वर्षपछि २०७९ साल मंसिरमा उहाँ रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभयो ।
प्रदेश सभा सदस्यका रूपमा समेत सक्रिय रहनुभएकी रोका २०८२ साल कात्तिकदेखि नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील हुनुहुन्छ। राजनीतिक संगठनमा लामो समयको अनुभव, जनस्तरसँगको निरन्तर सम्बन्ध र विभिन्न तहमा निर्वाह गरेको जिम्मेवारीका आधारमा उहाँले प्रदेश सरकारमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
२०८३ साल भदौ ११ गतेदेखि मिलन खड्का रोका कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा पाउनुभएको छ ।
विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेर महिला संगठन, पार्टी संगठन, किसान संगठन, जनप्रतिनिधि हुँदै प्रदेश सरकारको मन्त्रीसम्मको यात्रा तय गर्नुभएकी रोकाको राजनीतिक जीवन करिब तिन दशक लामो संघर्ष, संगठनात्मक अनुभव र निरन्तरताको यात्राका रूपमा देखिन्छ ।
