कार्यगत एकताबाटै पार्टी एकता गर्नुपर्नेमा जोड

सिमकोट, १६ हुम्ला-

हुम्लाका कम्युनिष्ट पार्टीका नेताहरुले अहिलेलाई कार्यगत एकता र भविष्यमा पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले नेपाली कम्युनिष्ट पार्टी हुम्ला जिल्ला समितिको आयोजनामा ‘हुम्लाको कम्युनिष्ट आन्दोलन र अवको वाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले विगतमा विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यदिशा लागु गर्ने हो भने अहिले कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकताको वातावरण बनाउन लाग्नुपर्ने बताउनुभयो ।
पार्टीको हुम्ला जिल्ला संयोजक समेत रहेका डा. रोकायाले यसका लागि शिक्षा, स्वास्थ्य र उत्पादनमा समाजवादी मोडल लागु गर्ने विषयमा अध्ययन, अनुसन्धान र तयारी गर्नुपर्ने बताउनु भयो ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज हस्त वहादुर शाहीले राजनैतिक परिवर्तनका लागि हुम्लाका वामपन्थीहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


पूर्व सांसद छक्क बहादुर लामाले आफु २ पटक निर्वाचित भएर पनि गर्न नसकेको राज्य प्रणालीको प्रवृतिवारे अनुभव सुनाउँदै कम्युनिष्ट नेताहरुले समाजको राम्ररी अध्ययन गरी वैज्ञानिक पार्टीका वैज्ञानिक हुनपर्नेमा जोड दिनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्व जिल्ला समिति सभापति वीरजङ शाहीले निकै पहिले गर्नुपर्ने काम अहिले जिल्ला पार्टीले शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै यस कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज रंगमल रोकायाले निर्वाचित जनप्रतिनिधिले राजनीति, आर्थिक र वर्ग संघर्षमा के कस्तो योगदान गरे त्यसको समीक्षा गर्नपर्ने बेला आएको बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेमा लामाले नेताहरुको कारण युवामा निराशा देखिएको र त्यसको समाधानमा लाग्नपर्ने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञामी बुमीले हुम्लाका कम्युनिस्टहरु सात करङ भाँचिएकोे घाइते अवस्थामा रहेकाले सोको पुर्ति अबको कार्यगत मोर्चा हुँदै पार्टी एकता गरेपछि हुने बताउनुभयो ।

नेकपा मालेका केन्द्रीय सदस्य गोरासिंह बोहोराले अहिलेको राजनीति विचारको नभई जागीर, उपभोक्ता र पैसामा बिकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण बोहोराले सबै पार्टीले आत्मआलोचना गर्दै श्रम र संघर्षमा अगाडि बढ्न पर्ने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकाश शाहीले हुम्ली जनताले कम्युनिष्टहरुलाई साथ दिएको तर स्थापित नेताहरुले विभाजित हुने र अन्तरघात गर्नाले सोच्न नसक्ने परिणाम भोग्न परेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सह संयोजक धर्मराज बोहोराले भनाई वामपन्थी र काम दक्षिणपन्थी हुने स्थितिमा सुधार ल्याउन पर्नेमा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सिमकोट इञ्चार्ज जस वहादुर भण्डारीले कम्युनिष्टहरु एक भएर मात्र आगामी दिनका चुनौतिहरु सामना गर्न सकिने बताउनु भयो ।

सहभागीहरुले सकिए केन्द्रमा पार्टी एक हुनपर्ने, सो हुन नसकेमा हुम्लाका सबै कम्युनिष्ट पार्टीहरु एक भएर सन्देश दिनपर्ने बेला आएको बताएका छन् । उनीहरूले यो छलफललाई तल पालिका र वडा तहसम्म र माथि प्रदेश र केन्द्रसम्म बिस्तार गर्नुपर्नेमा जोड पनि दिएका छन् ।

प्रकाशित मितिः 2026-10-03     10:33:59 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *