
सुर्खेत ११ भाद्र –
कर्णालीको विकट हिमाली भूगोल हुम्लामा जन्मिएर संघर्षलाई जीवनको अभिन्न अध्याय बनाउँदै जनताको सेवा र सामाजिक रूपान्तरणलाई आफ्नो जीवनको मूल ध्येय बनाएकी नाम हो—जुम्कित लामा कार्की । उनै जुम्कीत २०८३ भाद्र ११ गते कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा नियुक्त भएर कर्णालीको कृषिको बागडोर समाल्न पुगेकी छन । मन्त्री लामाको जन्म वि.सं. २०४० साल जेठ २५ गते हुम्ला जिल्लाको तत्कालीन बरगाउँ गाउँ विकास समिति–६, तोर्पा ( हाल सिमकोट गाउँपालिका–३) मा बुवा प्रेम बहादुर लामा र आमा पुनोर लामाको कान्छो सन्तानका रुपमा भएको हो । हाल उनको स्थायी बसोबास हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–२ (साविक सर्किदेउ गाउँ विकास समिति–२, रिप) मा रहेको छ । उनले आइए तहसम्मको अध्ययन पूरा गरेकी छन । उनी एक छोरा की आमा हुन ।

विद्यार्थी जीवनदेखि नै अन्याय, विभेद र असमानता विरुद्ध सचेत आवाज उठाउने स्वभावले उनलाई राजनीतिक र सामाजिक आन्दोलनतर्फ डो¥यायो । नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको विकासको समयमा वि.सं. २०५६ सालमा अखिल (क्रान्तिकारी) को सदस्यता ग्रहण गर्दै उनले परिवर्तनको यात्रामा पहिलो पाइला चालिन । विद्यालयको कक्षाकोठाबाट सुरु भएको त्यो यात्रा वि.सं. २०५८ साल साउन २१ गते पूर्णकालीन रूपमा जनयुद्धमा सहभागी भएपछि अझ दृढ र जिम्मेवार बन्यो । व्यक्तिगत सुख–सुविधाभन्दा समाज र राष्ट्रको परिवर्तनलाई प्राथमिकता दिने उनको दृढ संकल्पले जीवनलाई नयाँ मोड दियो ।

वि.सं. २०५९ सालमा नेकपा (माओवादी) को सक्रिय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी उनले वि.सं. २०६० सालमा एरिया कमिटी सदस्यको जिम्मेवारी सम्हाल्दै संगठन निर्माण र जनपरिचालनमा उल्लेखनीय योगदान दिइन । २०६० सालमा पार्टीले मुगु जिल्लामा सरुवा गरेपछि करिब ४ बर्ष मुगु जिल्लाको लामा समुदायलाई सँगठित गर्दै पार्टी काममा क्रियाशिल भएको थियो ।

जनयुद्धकै कठिन परिस्थितिमा वि.सं. २०६१ सालमा सर्केगाड गाउँपालिका–२ निवासी चन्द्रसिंह कार्कीसँग जनवादी विवाह गरेकी लामा उनको दाम्पत्य जीवन पनि समान आदर्श, संघर्ष र सामाजिक परिवर्तनप्रतिको साझा प्रतिबद्धतामा आधारित थियो ।

शान्ति प्रक्रियापछि उनको राजनीतिक जिम्मेवारी अझ विस्तार हुँदै गयो । वि.सं. २०६३ सालमा नेकपा (माओवादी) हुम्ला जिल्ला कमिटी सदस्य, लामा मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा जिम्मेवारी सम्हाल्दै उनले महिला अधिकार, आदिवासी जनजातिको उत्थान र सामाजिक न्यायका पक्षमा निरन्तर काम गरिन । मुगुबाट हुम्लामा कार्यक्षेत्र परिवर्तन गरेपछि उनले संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा उल्लेखनीय नेतृत्व प्रस्तुत गरिरहिन ।

वि.सं. २०६८ देखि २०७९ सम्म उनले जिल्ला, प्रदेश र केन्द्रीय तहका विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्दै पार्टी आन्दोलनमा सक्रिय भइरहेको अवस्थामा जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, हुम्ला जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय आयोजक समिति सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हुम्ला जिल्ला इन्चार्ज, कर्णाली प्रदेश कमिटी सदस्य तथा सचिवालय सदस्यजस्ता जिम्मेवारीहरूमा उनको नेतृत्वले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको छ ।

वि.सं. २०७४ सालमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्यका रूपमा पनि उनले सक्रिय भूमिका निर्वाह गरिन । पार्टी पुनः विभाजन भएपछि वि.सं. २०७८ मंसिरमा सम्पन्न प्रदेश अधिवेशनबाट मन्त्री लामा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटी सदस्यमा निर्वाचित भइन ।

वि.सं. २०७९ सालमा हुम्लाबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले जनप्रतिनिधिका रूपमा जनताका आकांक्षा, आवश्यकता र अधिकारलाई प्रदेशसभामा सशक्त रूपमा उठाउँदै आएकी छन । सामाजिक विकास समितिको सदस्यका रूपमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, सामाजिक न्याय, समावेशी विकास तथा कर्णालीको समग्र समृद्धिका पक्षमा उनको सक्रिय भूमिका निरन्तर रहँदै आएको छ ।

जीवनले उनलाई केवल संघर्षका अवसर मात्र दिएन, गहिरा पीडाहरू पनि दियो । वि.सं. २०८१ सालमा भएको सवारी दुर्घटनामा उनका जीवनसाथी तथा तत्कालीन सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको असामयिक निधन भयो । त्यो पीडा व्यक्तिगत रूपमा अत्यन्त गहिरो थियो, तर मन्त्री लामा विचलित नभएर लागिन। बरु जनताप्रतिको आफ्नो दायित्वलाई अझ मजबुत बनाउँदै उनले सार्वजनिक जीवनलाई निरन्तरता दिइन । यही दृढता, साहस र आत्मविश्वासले उनलाई एक सक्षम जनप्रतिनिधि, समर्पित राजनीतिकर्मी र प्रेरणादायी महिला नेतृका रूपमा स्थापित गरेको छ । हुम्लाको लामा समुदायको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेश सभा सदस्य भएकी लामा अब कर्णालीको कृषि क्षेत्रको समग्र नेतृत्व गर्दै आज कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी प्राप्त गरेकी छिन ।

जुम्कित लामा कार्कीको जीवनयात्रा केवल एउटा व्यक्तिको राजनीतिक यात्रा मात्र होइन; यो कर्णालीका महिलाको नेतृत्व क्षमता, संघर्षबाट सम्भावना निर्माण गर्ने साहस र जनताको सेवामा समर्पित जीवनको प्रेरणादायी दस्तावेज पनि हो । कठिनाइलाई अवसरमा रूपान्तरण गर्दै न्याय, समानता, समावेशिता र समृद्ध समाज निर्माणको यात्रामा उनी आज पनि उत्तिकै सक्रिय, प्रतिबद्ध र निरन्तर अग्रसर रहेकी छन ।

जुम्कित लामा कार्कीको यो जीवनवृत्तान्त र संघर्षगाथाले कर्णाली प्रदेशको राजनीतिक तथा सामाजिक आन्दोलनमा महिला नेतृत्वको सुदृढ पहिचान र त्यागलाई प्रष्ट्याएको छ । हुम्लाको विकट भूगोलबाट सुरु भएको उनको यो क्रान्तिकारी यात्रा, जनयुद्धको कठिन मोर्चा, व्यक्तिगत जीवनका गम्भीर पीडाहरू लाई चिर्दै प्राप्त गरेको यो राजनीतिक उचाइ वास्तवमै अत्यन्त प्रेरणादायी छ ।
