अखिल नेपाल महिला संगठनको कर्णाली प्रदेशस्तरीय एकता भेला सम्पन्न

सुर्खेत ६ भाद्र । अखिल नेपाल महिला संगठनको कर्णाली प्रदेशस्तरीय एकता भेला शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । विभिन्न वाम घटकहरूबीचको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठनका रूपमा रहेको अखिल नेपाल महिला संगठनको प्रदेशस्तरीय एकता भेला सम्पन्न भएको हो ।

भेलाले धनकुमारी जिसी शाहीको संयोजकत्वमा १६१ सदस्यीय अखिल नेपाल महिला संगठन कर्णाली प्रदेश समिति घोषणा गरेको छ । समितिको सहसंयोजकमा देवका लामिछाने चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन अखिल नेपाल महिला संगठनकी केन्द्रीय संयोजक तथा कार्यक्रमकी प्रमुख अतिथि दामा शर्माले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि दामा शर्माले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार सुनिश्चित गर्न महिला आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले महिलाको नेतृत्व विकास, संगठन विस्तार र महिला अधिकारका सवाललाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा अखिल नेपाल महिला संगठन केन्द्रीय समितिकी सहइन्चार्ज विमला सुवेदी, सह–संयोजक मनु सिग्देल, नेकपाका केन्द्रिय सदस्य कालिवहादुर मल्ल, मायाप्रसाद शर्मा, कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, अखिल नेपाल महिला संगठनका संगठन विभाग प्रमुख तथा नेता रेनु दाहाल, सहइन्चार्ज टेकवहादुर वस्नेत, रामदिप आचार्य, नरेश भण्डारी, अमरवहादुर थापा,कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलवहादुर शाही, प्रदेश संयोजक विमला केसी, सहसयोजक ठगेन्द्र प्रकाश गिरी,  प्रदेश सांसदहरु लगाएत नेकपाका केन्द्रीय सदस्यहरु, अखिल नेपाल महिला संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु,अरुणा पराजुली, पुष्पा घर्ति विष्ट,देवी वली, गोमा कुवर, टिका वुढाथोकी, नन्दा शर्मा, हरिमाया शर्मा, गंगा वोगटी, लक्ष्मीकन्या वुढा, उर्मिला विक, पार्टीका प्रदेशका नेताहरुको सहभागिता रहेको थियो ।

भेलाको शुभकामना ब्यक्त गर्ने अतिथिहरुले प्रदेशस्तरमा संगठनको अवस्था, आगामी कार्यदिशा, संगठन विस्तार तथा महिला अधिकारका सवालमा आफनो धारणा ब्यक्त गरेका थिए ।

त्यस्तै सहभागीहरूले स्थानीय तहदेखि प्रदेश तहसम्म महिलाको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने, महिलामाथि हुने हिंसा तथा विभेदविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने र संगठनलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए ।

महिला आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै नयाँ पुस्ताका महिलालाई नेतृत्वमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । वक्ताहरूले महिलाको नेतृत्व विकास, राजनीतिक सहभागिता, सामाजिक न्याय तथा आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेर संगठनात्मक गतिविधि अघि बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा विभिन्न वाम घटकबाट एकतामा समाहित भएका महिला नेतृ तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । नवनिर्वाचित प्रदेश समितिले कर्णालीका सबै जिल्लामा संगठनलाई व्यवस्थित रूपमा विस्तार गर्दै महिला अधिकार, सामाजिक न्याय तथा समानताका सवालमा अभियान सञ्चालन गर्ने जनाएको छ ।

भेलाले संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको नवनिर्वाचित सयोजक जिसीले वताउनुभयो । कर्णाली प्रदेशस्तरिय एकता भेला निवर्तमान अध्यक्ष ललिता रेग्मीको अध्यक्षतामा भएको थियो ।

एकता भेलावाट १४ वुदामा समसामयिक प्रस्तावहरू पनि पारित गरेको सयोजक धनकुमारी जिसी शाहीले जानकारी दिनुभयो । एकता भेलावाट पारित समसामयिक प्रस्तावहरू निम्नानुसार रहेका छन ।

१) राष्ट्रिय अखण्डता, स्वाधीनता, सार्वभौमिकता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरुद्ध बढ्दो हस्तक्षेपको विरुद्ध एकताबद्ध भै प्रतिरोध गर्न यो भेला जोडदार माग गर्दछ ।

२) महिला हत्या, हिंसा र बलात्कार विरुद्ध शून्य सहनशीलताको नीति लागू गरी अपराधीलाई दण्ड र पिडितलाई न्याय दिन यो भेला जोडदार माग गर्दछ ।

३) सुकुम्वासीमाथि भएको डोजर आतंकको घोर निन्दा एवं भत्सर्ना गर्दै तुरुन्त आवास लगायत सम्पूर्ण आवश्यक व्यवस्था गर्न सरकारसँग यो भेला जोडदार माग गर्दछ ।

४) सामाजिक संजाल ता डिजिटल प्रविधिको विस्तारसँगै महिलामाथि साइभर बुलिंग चरित्र हत्या तथा मानसिक उत्पीडनका घटनाहरू गरिरहेकोले कल्यिो साइभर कानून निर्माण गरि कार्यान्वयन गर्न यो भेला जोडदार माग गर्दछ ।

५) आजको पूँजीवादी विश्व व्यवस्थामा तीव्र राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनसँगै युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन, श्रमबजारको अस्थिरता तथा शक्तिशाली राष्ट्रहरूको बीचको द्वन्द्वले गरिब बढाउँदै लगिरहेको छ। आत्मा निर्भरता बढाउन रोजगारी सृजना गर्दै उत्पादनमुखि कार्यक्रम लागू गर्न यो भेला जोडदार मामग गर्दछ ।

६) अस्थिर विश्व बजारको मार महिलाहरूको जिवन, श्रम, सुरक्षा, स्वास्थ्य र सामाजिक अवस्थामाथि पकोछ। गाउँ देखि शहरसम्म महिलाहरू आर्थिक बोझ, पारिवारिक जिम्मेवारी र असुरक्षाको दोहोरो दबाबमा जिवन यापन गर्न बाध्य छन। हामी यो अवस्थाको अन्त्य गर्न जोडदार माग गर्दछौं ।

७) जातीय विभेद, छुवाछुत तथा सबै प्रकारका विभेदको अन्यका लागि यो भेला जोडदार माग गर्दछ ।

८) महिलाको आर्थिक आत्मा निर्भरता बढाउन रोजगारी, सिप विकास उत्पादनमुखी कार्यक्रम गर्न यो भेला जोडदार माग गर्दछ ।

९) वैदेशिक रोजगारीमा रहेका महिलाको सुरक्षा, अधिकार र सम्मान सुिश्चित गराउन यो भेला जोडदार माग गर्दछ ।

१०) वैदेशिक रोजगारीमा रहेका महिलाको सुरक्षा, अधिकार सम्मान सुनिश्चित गराउन यो भेला जोडदार माग गर्दछ ।

११) सबै तहमा महिलाको प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागितामा र नेतृत्व विकासलाई प्रभावकारी बनाउन यो भेला जोडदार माग गर्दछ ।

१२) राष्ट्र निर्माणका लागि महिला अधिकार, समानुपातिक समावेशी र भूमिका सहितको प्रतिनिधित्व सुनिश्चित गर्न राज्य, राजनीतिक दल नागरिक समाज र सम्पूर्ण सरोकारवालाले महिलाको सुरक्षा, अधिकार र आत्मा निर्भरतालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन यो भेला जोडदार माग गर्दछ ।

१३) नेपालको संविधानले सुनिश्चित गरेको न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र स्वायत्ततालाई प्राथमिकता दिई पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न यो भेला जोडदार माग गर्दछ ।

१४ महिलाको सम्पत्तीमाथिको समान अधिकारको कार्यान्वयन गर्दै वैवाहिक सम्पत्तीमा विभेदहित स्वामित्व उपयोग हस्तान्तरणको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न यो भेला जोडदार मा गर्दछ । कर्णाली प्रदेश भित्र रहेका रुढीवादी परम्परामा आधारित बोक्सी, धामी, झाँकीका नाममा महिला माथि हुने विभिन्न प्रकृतिका हिंसा प्रति यो भेलाले घोर भत्सर्ना गर्दछ ।

प्रकाशित मितिः 2026-08-22     10:14:36 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *