कर्णालीमा मनाइयो देवानी तथा फौंजदारी संहिता प्रारम्भ उत्सव

दिपेन्द्र शर्मा
सुर्खेत, १ भाद्र /   कर्णालीमा आज “देवानी तथा फौंजदारी अपराध संहिता, २०७४” लागू भएको दिनलाई प्रारम्भ उत्सवका रुपमा मनाईएको छ ।
कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज सुर्खेतमा संहिताको ऐतिहासिक उत्सव मनाईएको हो ।
वि.सं.२०७४ साल असोज ३० गते जारी भएको ऐन, आज भाद्र १ गते लागू भएको दिनलाई कर्णाली सरकारले गतिशिल दस्ताबेजका रुपमा लिएको छ ।
प्रगतिशील ऐनका रुपमा आएको देवानी तथा फौँजदारी संहिताको कार्यान्वयनमा सबै लाग्न कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले अपिल गरेका छन । “१६५ वर्षपछि जारी भएको यो संहिताले संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति भएको छ, जसले कर्णालीसहित सिंगो मुलुकलाई विधिको शासनको प्रत्याभूति गराउने छ ” मन्त्री रावलले भने । कर्णालीका कुनैपनि नागरिकले कानूनी शासनको महसुस गर्ने र कोही कसैले पिडित भएर बस्नु नपर्ने मन्त्री रावलले बताए । त्यसको साथै मन्त्री रावलले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेशका लागि संहिता कोशेढुंगा सावित हुने दावी गरे ।
एउटा आमाबाट पाँच सन्तान जन्मेको बताउँदै तिनको सफल कार्यान्वयनका लागि आजैबाट सबैलाई सूचना तथा जानकारी हुनुपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कलानिधि पौडेलले वताए । “संहिता आजको दिनबाट लागू भएको छ , यो म्याराथुन दौड हो,” पुरागर्नु पर्ने जिम्मेवारी सबैको काँधमा आएको छ उनले भने ।

बारद्वारा संहिताको स्वागत

उच्च तथा जिल्ला अदालत सुर्खेत अन्तरगत नेपाल बार एशोसियसनले देवानी तथा फौंजदारी संहिता लागू भएको यो दिनलाई सुर्खेतमा भव्य स्वागत गरेको छ ।
बारद्वारा बीरेन्द्रनगरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उच्च अदालत बार सुर्खेतका अध्यक्ष भूषण मानन्धरले स्थानीय तहमा न्यायिक समितिको संयोजक जनप्रतिनिधिलाई बनाईएकोले उनीहरुबाट गरिने फैसलाको दुरुपयोग हुन सक्ने चिन्ता प्रकट गरे । “अब नागरिक तहदेखि संहितालाई व्यवस्थित र मर्यादित रुपमा कार्यान्वयनमा जोड दिनुपर्छ,” अध्यक्ष मानन्धरले भने , यसको अक्षरशः पालन गर्न व्यापक प्रचार प्रसारका निम्ति मिडिया तथा सम्पूर्ण सरोकारवालाहरुको भूमिका अपरिहार्य रहेको छ । संहिता लागू भएपछि कर्णालीबासीमा खुशी छाएको सुर्खेत जिल्ला अदालतका वारका सचिव रामवावु विसीले वताए । कार्यक्रममा कानुन ब्यवसायी, पत्रकार , लेखापढि ब्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, भदौ १, २०७५     3:13:18 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *