घुम्न लायक महतगाँउ

दिपेन्द्र शर्मा


सुर्खेत ५, असार / युद्ध पर्यटनको विकास भएको गाँउ हो महतगाँउ । यो गाँउ रुकुम पुर्बको भुमे गाँउपालिकाको वडा नम्बर ६ मा अवस्थित रहेको छ । माओवादी आन्दोलनको दश वर्षे लामो जनयुद्धको केन्दविन्दुमै रहेको महतगाँउले धेरै माओवादी जन्मायो । युद्ध र शान्तिको संगम (युद्ध पर्यटनको विकास) का रुपमा रहेको यो गाँउ पर्यटकहरुको मनै लोभ्याउने गरि उभिएको छ । विगत युद्धको वेला माओवादी नेताहरुको लागि सुरक्षित स्थान मानिएको महतगाँउ अहिले तीनै नेताको प्रतिक्षा रहेको छ । रुकुम(पूर्व) को भूमे गाउँपालिका ६ नम्बर वडामा पर्ने महत गाउँ निकै चर्चित नाम हो । महत पुगेपछी युद्धको गहिरो अध्ययन गर्न सहज वनाइदिन्छ युद्धपर्यटनले । यो गाउँपालिकामा मगरहरुको बहुल्यता छ भने अन्य जातिको पनि मिश्रित बसोबास छ । एकातिर मगर समुदायको सांस्कृतिक बस्ती महत, अर्कोतिर जनयुद्धको ऐतिहासिक स्थल पनि भएकाले युद्ध पर्यटनको केन्द बन्न पुगेको छ ।

जहाँ तत्कालिन उपराष्ट्रपति तथा जनासेनाका कमाण्डर नन्दकिशोर पुन (पासाङ) नेतृत्वमा महत गाउँमा रहेको प्रहरी चौकी माथि गरिएको आक्रमणको तयारी र अवस्थाका बारेमा युद्धस्मारिका स्थल नै बनेको छ । उक्त युद्धस्मारिका स्थल हेर्नका लागि हामी महतगाउँतर्फ धेरै मानिसहरु आन्तरिक तथा बाह्य पर्यटकका रुपमा दैनिक जसो आउने गर्दछन । । तत्कालिन समयमा यो महतगाउँ निकै चर्चाको विषय पनि बनेको थियो । माओवादीले आफनो युद्ध अवधिका समयमा लडाइमा गरेको महत्वपूर्ण सफलता मध्येको एउटा महत गाउँ पनि थियो । जहाँ तत्कालिन समयमा सरकारी सुरक्षा निकायको सबैभन्दा उच्च ओहदाका व्यक्ति डिएसपी ठुले राइलाई कब्जा गरिएको थियो । जनमुक्ति सेना नेपालद्वारा २०५६ साल असोज ५ गते महत प्रहरी चौकीको सफल आक्रमण पछि तत्कालिन डिएसपी ठुले राइलाई युद्धवन्दी नेकपा माओवादीका तत्कालिन केन्द्रीय सदस्य (हालका महासचिव) देव गुरुङसँग साटेर रिहाइ गरेकोले पनि महत चर्चामै रहेको थियो ।


महत प्रहरी चौकीको आक्रमण सम्बन्धी वास्तविक र ऐतिहासिक घटनालाई परिकल्पना गरेर बनाइएको युद्धस्मारिका स्थल रहेको युद्ध स्मारकका साथै महत प्रहरी चौकी र चौकी कब्जाको स्टयाचु अहिले पनि सजिलै अवलोकन गर्न सकिन्छ । यो युद्धस्मारिका स्थल अझ भनौं, युद्ध पर्यटन र युद्ध पत्रकारिता गर्नेहरुका लागि त झन् अवलोकन गर्नै पर्ने स्थान हो । जहाँ गुरिल्ला मार्ग, विगत द्वन्द्वको समयमा यो गाँउमा भएका युद्ध अभ्यासका बारेमा स्थानीयहरुसँग सजिलै जानकारी लिन सकिन्छ । त्यहाँ पुग्ने जोकोहीले पनि युद्धस्मारिका स्थलको गहिरो स्थलगत अध्ययन गर्न खोज्छन । पर्यटकको मन लोभ्याउन महतले त्यहाँ पुग्दा मोबाइल र क्यामेराहरु तेस्र्याउँदै फोटो, भिडियो र टिकटक बनाउन समेत उत्साह जगाउछ पर्यटकहरुलाइ ।
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ठुलो जोखिम मोलेको महतगाँउ रुकुम पुर्बको युद्धपर्यटनको विकासमा राम्रो सम्भावना बोकेको छ । लोकतन्त्र स्थापनाको लागि विद्रोहको थालनी भएको यस जिल्लाले युद्ध पर्यटनको ठुलो सम्भावना बोकेको छ । संघियताको कार्यान्वयन पछि स्थानीय सरकारको स्थापनापछि विभिन्न ठाउँमा युद्ध पर्यटनको रुपमा विकास पनि गरिदै लगिएको छ । जनताको आगनमा सरकार आएपछि रुकुम पुर्बमा युद्धपर्यटनको विकासले अझ गति लिएको हो । नमुना युद्ध पर्यटनको केन्द्र बन्न थालेपछि महतगाँउ पछिल्लो समय धेरै आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।
रुकुम(पूर्व) को भूमे गाउँपालिका ६ नम्बर वडामा पर्ने महत गाउँ निकै चर्चित नाम हो । दश वर्षे जनयुद्धताका महतमा ठुलाठुला भिडन्त भएका थिए । यहि भिडन्तमा परि राज्य पक्षका ५२ र माओवादीका ६ जना गरि ५८ जनाले ज्यान गुमाएको नेपाल पत्रकार महासघका रुकुमपुर्बका उपाध्यक्ष सर्जना कार्कीले वताइन । उनका अनुसार युद्धका वेला महत नजिकैको लाबाङमा त्यतिबेला माओवादीको चर्चित बैठक सम्पन्न भएको थियो । जुन बैठकबाट नेता डा. बाबुराम भट्टराइलाई कारबाही गरेको थियो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम पनि यहीं भए र सैन्य कार्यालयहरु यहीं खडा गरिएका थिए ।


यहि ऐतिहासिक ठाउँलाई अहिले युद्ध पर्यटनको रुपमा विकास गरिदै लगिएको छ । महतको गाउँ भन्दा माथीपट्टी डाँडामा युद्ध फिचर(स्याण्ड मोडेल) को निर्माण गरिएको छ । महतलाई युद्ध स्मारिकाको रुपमा परिचित गराउन प्रतिनिधिपात्रको रुपमा मुख्य लडाकुहरुको मोडेल तयार गरिएको छ । स्याण्ड मोडल अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर तत्कालिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ तथा अन्य सहायक कमान्डर गरी जम्मा १३ जना र प्रहरीतर्फ डिएसपी ठुले राइसहित ७ जना गरि २० जनाको मोडल निर्माण भएको छ । यस स्याण्ड माडेलले यहाँ आउने पर्यटकलाइ माओवादी जनयुद्धको जिवन्त अनुभुति गराउछ ।
ऐतिहासिक गाँउ महतलाइ अहिले युद्धपर्यटनको विकास गरिदै छ । महत आक्रमणमा भएका तयारीलाई झल्काउने स्याण्ड मोडेल हरुलाइ सहजै हेर्न सकिन्छ । भुमे गाँउपालिकाका पहिलो कार्यकालका अध्यक्ष र उपाध्यक्ष दुबैजना जनमुक्ति सेना भएको कारणले पनि यसको विकास गर्नमा सहज भएको युद्ध फिचर निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगर वताउछन । उनका अनुसार ठूले राईले माओवादी लडाकुहरुसमक्ष आत्मसर्पण गरेको दृष्य पनि युद्ध फिचरमा समेटिएको छ । “ महतको ऐतिहासिकतालाइ झल्काउने खालका युद्ध पर्यटनका बिम्ब निमार्ण भएका छन, युद्ध वुझेको नेतृत्व भएकाले युद्ध पर्यटनको विकास गर्न सहज भयो, युद्ध पर्यटनले गर्दा गाँउमा आउने पर्यटकहरुले गाँउ नै रमाइलो वनाउछ ” बुढा भन्छन । यहाँको युद्ध पर्यटनको संभावनालाई ध्यान दिएर युद्ध फिचर निर्माणलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको उनि वताउछन । महतमा युद्ध फिचरलाइ हेर्नका लागि आन्तरिक पर्यटकहरुको रोजाइको केन्द्र यो ठाउँ बन्न पुगेको छ । छिमेकी जिल्लाहरुबाट यहि युद्ध फिचर हेर्न मानिसहरु आउने गरेका छन् भने विद्यार्थीहरुको लागि शैक्षिक भ्रमणको गन्तव्य बनेको छ ।
युद्ध र शान्तिको अध्ययन गर्न चाहनेका लागि यो गाउँ गजबको संगम बनाउने प्रयास भइरहेको छ । गाउँको प्रवेशद्वारमै शान्तिका प्रतिमूर्ति गौतम बुद्धको स्मारक पनि बनाइएको छ । महतले युद्धको मात्र होइन शान्तिको सन्देश दिएको छ प्रवेशद्धारमै गौतमवुद्धको स्मारक बनाएर । जिल्ला एउटै हुदाका जिल्ला विकास समिति रुकुमका तत्कालीन स्थानीय विकास अधिकारी भरतकुमार शर्माको कल्पना अनुसार महतमा बुद्धको मूर्ति पनि निर्माण गरिएको हो । शर्मा हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख प्रशासनिक सल्लाहाकार छन् ।


के हो महत ?
महत गाउँको खास नाम ‘मैगाउँ’ थियो । मैगाउँलाई खाम भाषामा ‘मैनाखार’ भनिन्छ । यो ठाउँमा पहिला प्रशस्तै मात्रामा बाझका रुखहरु थिए । बाझको रुखहरुको बीचमा घरहरु थिए । त्यसैले ‘मैनाखार’ भन्ने गरेको समितिका अध्यक्ष कमल बुढा मगर वताउछन । ‘मै’ भनेको बाझ र ‘नाखार’ भनेको गाउँ हो । पछि रुकुम अड्डा भइसकेपछि मगरहरु अर्थात मतवाल बस्ने रैछन् भनेर यो गाउँको नाम ‘महत’ रहन गएको हुनसक्ने उनको अनुमान छ । पहिला महत सिंगो गाविस थियो भने अहिले भुमे गाउँपालिकाको तीन वटा वडामा बाँडिएको छ । मुख्य महत वडा नम्बर ६ नम्बरमा पर्दछ ।
रुकुम पुर्बको सदरमुकाम रुकुमकोटबाट करिब दुइ घण्टामा गाडीको यात्रा गरेपछि महतगाँउ आउछ । महतमा रमाएपछि नजिकै रहेके थवाङ्ग जान धेरैलाई मन लाग्छ । महतगाउँबाट करिव २०÷२५ मिनेट नजिकै रहेको तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थवाङ्ग पनि पर्यटकलाइ पर्खिरहेको हुन्छ ।

प्रकाशित मितिः बुधबार, असार ६, २०८०     8:03:44 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *