दिपेन्द्र शर्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि २०६३ सम्म चल्यो । वि.सं. २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै जनयुद्ध समाप्त भयो । १० वर्ष ९ महिना ५ दिनसम्म सञ्चालन भएको जनयुद्धमा धेरैले आफ्नो ज्यान गुमाए । कोही अहिलेसम्म पनि बेपत्ता छन् भने धेरैजना घाइते भए । आम अभियानका रूपमा सञ्चालन भएको जनयुद्धमा जनताको व्यापक सहभागिता रह्यो । मैले पनि कम उमेरमा नै माओवादी आन्दोलनमा सहभागी हुने मौका पाएँ ।
जनयुद्धको अवधिमा मैले प्रायःजसो जाजरकोटभन्दा बाहिरका जिल्लाहरूमा काम गर्ने अवसर प्राप्त गरेँ । आफ्नो गृहजिल्लाभन्दा बाहिर हँुदा मैले धेरै कुराहरूको अभिलेख राख्ने प्रयास गरेँ र केही कुराहरू डायरीमा टिप्न थालेँ । युद्धयात्राको क्रममा मैले लामो समय जनसेना, नेताहरू, विद्यार्थीहरू तथा ग्रामीण वासिन्दाको बीचमा रहेर काम गर्ने मौका पाएँ । जनयुद्धका क्रममा धेरै जोखिमहरूलाई पार गर्दै शान्ति प्रक्रियासँगै सकुशल घर आउन पाइयो ।
युद्धका दिनहरूमा मैले प्रायः रोल्पा, रूकुम, सल्यान, कालिकोट, अछाम, बाजुरालगायतका जिल्लामा कार्यक्षेत्र बनाएर काम गरेँ । अछाममा रहँदा पहिलोपटक युद्धकालीन रेडियो स्टेशन देख्न पाएँ । रेडियोमा प्रसारण हुने कार्यक्रम र समाचार सुन्दासुन्दै मलाई पनि पत्रकारिताप्रति रूचि लाग्न थाल्यो । अछाममा रहँदा हामीले जनयुद्धको प्रमुख सञ्चारमाध्यमको रूपमा रहेको जनादेश साप्ताहिक पत्रिका सबैभन्दा छिटो पढ्न पाउँथ्यौ ।
जनादेश नियमित पढ्न मिल्ने भएपछि मैले पनि जनादेशमा लेख्ने प्रयास गर्न थालेँ । जनादेशमा मैले लेखेका सामग्रीहरू प्रकाशित भएपछि हौंसिएको मलाई लेखन कार्यमा लागिरहने प्रेरणा मिल्यो । यसकारण पत्रकारितामा मेरो रूचि बढ्दै गयो । अछाम यात्राले मेरा लागि पत्रकारितामा लाग्ने वातावरण निर्माण ग¥यो । जनयुद्धको समयमा देशका विभिन्न भूभागमा रहेर काम गर्दै जाँदा धेरै अनुभूति सङ्गालियो र तिनै अनुभूतिको अभिलेखीकरण गर्नका लागि पुस्तक प्रकाशनको योजना बनाएको छु । जनयुद्धदेखि नयाँ संविधान जारी हुँदासम्मका विषयवस्तु समेटेर म आफ्नो जीवन भोगाई र अनुभूतिको सङ्गालो प्रस्तुत गर्ने निर्णयमा पुगेको हुँ । जुनीदेखि पिलीसम्म नामक नियात्रा संग्रह प्रकाशित गर्ने अवसर प्राप्त भएको छ ।
भूमिगतकालका टिपोटहरूलाई अभिलेखीकरण गर्दै जाँदा युद्धयात्राको ताजा स्मरण गर्ने मौका मिल्यो । मैले शान्तिप्रक्रियापछि जनयुद्धको उद्गम थलो, दुई ठूला छिमेकी देश चीनको राजधानी बेइजिङ र भारतको राजधानी नयाँ दिल्लीलगायतका ठाउँको भ्रमण गरेँ । ती सबै मेरो जीवनका ताजा दस्तावेज हुन् । मैले युद्ध र शान्तिकालीन अवधिमा आफूले काम गरेका र भ्रमण गरेका समय र ठाउँका बारेमा यात्रा संस्मरण लेख्दै गएँ, जुन आज मेरो महत्वपूर्ण सम्पत्ति बनेको छ । यस पुस्तकमा जनयुद्धमा सहभागी हँुदै गर्दादेखि शान्तिप्रक्रिया र नयाँ संविधान जारी भएपछिका केही प्रतिनिधिमूलक यात्रा संस्मरणहरूलाई समावेश गरिको छ ।
जनयुद्धदेखि विश्वविद्यालयमा अध्ययन गर्दा गरिएका विभिन्न यात्राको अनुभवमा आधारित विषयवस्तुलाई समावेश गरेर यो पुस्तक तयार पारिएको छ । यस पुस्तकमा बीउ छर्न छोडेर भूमिगत, युद्धको पहिलो अभियान भेक जनसैन्य मार्च, धन्न बाँचिएको रोल्पा यात्रा, माया सरसँगको मायालाग्दो यात्राले मलाई पत्रकार बनायो । क्रान्तिको अग्रमोर्चामा जाजरकोटको जुनी कम्यून, जनासेनासँगको यात्रा ः पिली हुँदै जाजरकोटसम्म, युद्ध पर्यटनको केन्द्र महतगाउँ पुग्दा, मध्यपहाडी लोकमार्गको यात्रा ः मुक्तिनाथ हुँदै कोरोला नाकासम्म, साम्यवादी मुलुक चीन यात्राको अनुभूति, सुर्खेतदेखि दिल्लीसम्म शीर्षकका अनुभूतिहरू समावेश गरिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसअन्तर्गत सामाजिक कार्य÷पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग, स्नातकोत्तर तहमा अध्ययन गर्दा नेपालको युद्धकालीन पत्रकारितामा जनादेश साप्ताहिक पत्रिकाको भूमिकामा केन्द्रीत भएर मैले शोधपत्र तयार गरेको छु । यस अवधिमा मैले जनयुद्धकालदेखि हालसम्मका केही महत्वपूर्ण यात्राका टिपोटहरू प्राप्त गरेपछि मलाई मेरो यात्राका विभिन्न टिपोटहरूको दस्तावेजीकरण गरौं भन्ने लाग्यो र यस पुस्तकले आकार पायो ।
अध्ययनका क्रममा मैले मेरा पुराना कागजातको पुनः अध्ययन गरेपछि यात्रा संस्मरण नलेखी धरै पाइन । जनयुद्धमा भएको युद्धसञ्चार तथा युद्धपत्रकारिताको अध्ययन र अनुसन्धानले मेरो जीवनमा निकै महत्वपूर्ण योगदान पु¥याएको छ । अतः यस पुस्तकको अध्ययनले पाठकलाई युद्धपत्रकारिताका बारेमा थोरै भएपनि नवीन जानकारी प्राप्त गर्न सघाउने विश्वास लिएको छु ।