परीक्षा प्रणाली सुधारका लागि सरोकारवालासंग अन्तरक्रिया

सुर्खेत, २ फागुन । मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा प्रणाली सुधारका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विश्वविद्यालयको परीक्षा प्रणालीको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवालाको सहभागितामा सम्पन्न गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयद्वारा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा परीक्षा व्यवस्थापनसम्बन्धी विविध चुनौती र सुधारका उपायमाथि केन्द्रित भएर ब्यापक छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा भाग लिदै विश्वविद्यालय रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले आफूले प्रणाली सिद्धान्त र विकेन्द्रीकरणमा विश्वास गर्ने भएकाले समयानुकूल विश्वविद्यालयको समग्र प्रणाली विकास गर्न जोड दिइने बताउनुभयो । उहाँले कसैको क्षेत्राधिकारमा हस्तक्षेप नगरिने तर आ–आफ्नो अधिकार र कर्तव्यमा रहेर जिम्मेवारी आआ–पूरा गर्न सम्बद्ध सबैलाई आह्वान गर्नुभयो ।

विश्वविद्यालयको मुहार फेर्न सबैमा सामूहिक भावना आवश्यक रहेको बताउँदै रजिष्ट्रार कँडेलले विश्वविद्यालयको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभयो । उहाँले सबै शिक्षक– कर्मचारी अनिवार्य रुपमा सात घण्टा कार्यालयमा बस्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्न, गराउन निकाय प्रमुखहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

उहाँले परीक्षामा पर्न सक्ने हेलो इफेक्ट न्यूनीकरण गर्न टोकन सिस्टमबाट निरीक्षक खटाउनुपर्ने र त्यसो गर्दा पनि कन्फिलिक्ट अफ इन्ट्रेष्ट नहुने गरी निरीक्षक व्यवस्थापन गर्नुपर्ने लागायतका आधारभूत उपायहरु सुझाउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख एवम् परीक्षा समितिका सदस्यसचिव सहप्रा. डा. अर्जुनबहादुर अयडीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै परीक्षा व्यवस्थापन कार्यालयले गरिरहेको कार्यप्रगति सहित परीक्षा प्रणाली सुधारका लागि आगामी दिनमा गर्न थालिएको योजना र कार्यक्रम बारे सहभागीहरुका विचमा योजना प्रस्तुत गर्नुभएको थियो ।

पछिल्लो समय शिक्षकलाई पर्यवेक्षकका रुपमा महिनौं खटाइँदा एकातिर सम्बद्ध निकायमा पठनपाठनमा अभाव खट्किएको, अर्कोतिर ठूलो आर्थिकभार परिरहेको र त्यसमाथि पर्यवेक्षणमा जानु नजानुको खासै औचित्य नदेखिएको सन्दर्भमा उहाँले परीक्षालाई भौतिकका अलावा कसरी प्रविधिमैत्री तरिकाले ट्र्याक, नियमन गर्ने भन्ने विषयमा उपयुक्त कदम चाल्न ढिलाई गर्न नहुने बताउनुभयो ।

परीक्षा प्रमुख डा. अयडीले आफ्नो पद बहाली पश्चात् परीक्षाको सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताउँदै नतिजा चाँडोमा परीक्षा भएको भोलिपल्टदेखि अधिकतम दुई महिनाभित्र नतिजा प्रकाशित गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले ढिला नतिजा आएका कारण विद्यार्थी बाहिर गए भन्ने ठाउँ अब नराखेको बताउनुभयो ।

विश्वविद्यालय परीक्षा समिति सहित विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागका प्रमुख तथा कर्मचारीहरु सहभागी अन्तरक्रिया कार्यक्रमको अध्यक्षता विश्वविद्यालय रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले गर्नुभएको थियो ।

 

अन्तरक्रियामा परीक्षा समिति सदस्य समेत रहनुभएका डीन सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, परीक्षा व्यवस्थान सहप्रमुख डा. ज्ञानप्रसाद पौडेल र युवराज शर्मा लगायतका सहभागीहरूले विद्यमान परीक्षा प्रणालीमा देखिएका समस्याहरू पहिचान गर्दै तिनको दीर्घकालीन समाधानका निम्ति व्यावहारिक सुझावहरू प्रस्तुत गर्नु भएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।

सूचना अधिकारी केसीका अनुसार परीक्षाको गुणस्तर वृद्धि, प्रशासनिक पारदर्शिता, विद्यार्थीमैत्री प्रणाली विकास तथा प्रविधिमैत्री परीक्षा व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा विमर्श गरिएको उक्त कार्यक्रमले विश्वविद्यालयमा आगामी दिनमा प्रभावकारी परीक्षा सञ्चालन गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले २०८३ को शैक्षिक क्यालेण्डर निर्माणसँगै जनशक्ति व्यवस्थापन र अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको आसन्न दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित रही सहभागीहरु विचमा छलफल गर्नुभएको थियो भने परीक्षा सुधारको लागि नयाँ सफ्टवयरबारे सूचना प्रविधि अधिकृत माधव प्रसाद पाण्डेयले प्रस्तुतीकरण गर्नुभएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः 2026-02-14     8:34:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *