
सुर्खेत, चैत्र ४ — मध्यपश्चिम विश्वविद्यालय ले सहायक स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता विकास तालिम वीरेन्द्रनगर, सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ ।
उक्त तालिम विश्वविद्यालयको तालिम इकाइ (मुटु) को आयोजना तथा विश्वविद्यालय अनुदान आयोग को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। तालिममा विभिन्न केन्द्रीय निकाय तथा आङ्गिक क्याम्पसबाट २६ जना कर्मचारीहरूको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल ले तालिम उद्घाटन गर्दै कर्मचारीहरूको क्षमता विकास विश्वविद्यालयको समग्र प्रगतिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रशासनिक दक्षता, सेवा प्रवाहको गुणस्तर तथा जिम्मेवारीबोध अभिवृद्धि गर्न यस्ता तालिमले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रभावकारी सिकाइका लागि सहभागीहरूलाई सक्रिय सहभागिता जनाउँदै सिकाइलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गर्नुभयो । साथै, व्यावसायिकता र अनुशासनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै आङ्गिक क्याम्पसमा कार्यरत जनशक्तिको ज्ञान, सीप र अनुभवलाई समेटेर विश्वविद्यालयको विकासलाई गति दिने उल्लेख गर्नुभयो ।
हालै मित्रराष्ट्र भारतका विभिन्न विश्वविद्यालयहरूको भ्रमणबाट फर्किनुभएका रजिष्ट्रार कँडेलले आगामी दिनमा आवश्यकताअनुसार कर्मचारीहरूलाई अध्ययन भ्रमणमा पठाइने जानकारी दिनुभयो ।

उक्त अवसरमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम ले तालिम सफलताको कामना गर्दै शुभकामना सन्देश पठाउनुभएको थियो । तालिम इकाइ (मुटु) का संयोजक उपप्रा. कल्पना पौडेल को अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन उपप्रा. कमला कुमारी तिवारीले गर्नुभएको थियो ।
साथै, सहभागीहरूको तर्फबाट जलजला बहुमुखी क्याम्पस, रोल्पाका पृथ्वी डाँगी ले तालिमप्रति अपेक्षा व्यक्त गर्नुभएको जानकारी विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले दिनुभयो ।

तालिमको पहिलो दिन सहप्रा. डा. अर्जुनबहादुर अयडी, प्रशासन अधिकृत सैलेन्द्र पाठक तथा सूचना अधिकारी शेरबहादुर केसीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो। उद्घाटन कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कूलका डीन, प्राध्यापक तथा कार्यकारी निर्देशकहरूको समेत उपस्थिति रहेको थियो ।

तालिम अवधिभर विभिन्न विषयमा व्यवहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरिनेछ । यस तालिमले सहभागी कर्मचारीहरूको कार्यसम्पादन क्षमता अभिवृद्धि गरी विश्वविद्यालयको सेवा प्रवाह प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको सूचना अधिकारी केसीले बताउनुभयो ।
