आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई तालिम

 

सुर्खेत/ आलुको बीउ प्रमाणीकरणका लागि कृषकलाई लक्षित गरेर तालिमको आयोजना गरिएको छ । आलुको बीउ प्रमाणीकरण सम्बन्धी एक दिने स्थलगत तालिम गुर्भाकोट नगरपालिका–१३, गुमी, सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिम २०८२ साल चैत्र १० गते आयोजना गरिएको हो ।

 

कर्णाली प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतद्वारा तालिम आयोजना गरिएको हो । तालिममा स्थानीय कृषक तथा सरोकारवालाहरूलाई आलुको बीउ उत्पादन, प्रमाणीकरण प्रक्रिया तथा गुणस्तर व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

आयोजकका अनुसार तालिमले कृषकहरूलाई गुणस्तरीय बीउ उत्पादनमा सहयोग पु¥याउने तथा कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउन र कृषकहरूको क्षमता अभिवृद्धि गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

तालिममा एकीकृत कृषि प्रयोगशालाका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत परशुराम रावत, माटो विज्ञ मोहन आचार्य, कृषि अधिकृत गगन बहादुर कठायत तथा कृषि प्राविधिक दिपा वंशीले आलुको बीउ प्रमाणीकरण लगायत विभिन्न कृषि विषयमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।

महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेड, गुर्भाकोट–१३, गुमी, सुर्खेतको सभाहलमा सञ्चालन गरिएको उक्त तालिममा १७ जना महिला र ३ जना पुरुष गरी जम्मा २० जना कृषकहरूको सहभागिता रहेको कृषि प्राविधिक दिपा वंशीले जानकारी दिनुभयो ।

कार्यक्रम महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रतिभा राना गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रवन्धक दिपा रानाले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

प्रकाशित मितिः 2026-03-25     9:30:27 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *