
सुर्खेत, चैत १३— मध्यपश्चिम विश्वविद्यालय र नेपालस्थित अष्ट्रेलियन दूतावास का प्रतिनिधिमण्डलबीच शुक्रबार वीरेन्द्रनगर मा शिष्टाचार भेटसँगै शैक्षिक सहकार्यका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति ध्रुवकुमार गौतम र दूतावासका उपप्रमुख ग्रेग क्लेम ले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई शिक्षा मार्फत अझ सुदृढ बनाउनेमा जोड दिनुभयो ।
कार्यक्रममा उपकुलपति गौतमले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने प्रयासलाई तीव्र बनाइएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले दूतावाससँगको सहकार्यले विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताका लागि नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख क्लेमले शिक्षा क्षेत्रलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण आधारका रूपमा लिँदै ज्ञान, सीप र अनुसन्धान आदान–प्रदानमार्फत दीर्घकालीन सहकार्य विस्तार गर्न सकिने बताउनुभयो । उहाँले उच्च शिक्षा, प्राविधिक तालिम तथा अनुसन्धान साझेदारीका क्षेत्रमा सहकार्यको सम्भावना औंल्याउनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयका शैक्षिक, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कूलका डीनहरू प्रा. डा. विनोद वश्याल, प्रा. चन्देश्वरप्रसाद श्रीवास्तव, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. दिपकराज अधिकारी लगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।
सो अवसरमा विभिन्न संकायका डीन, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रारम्भमा अतिथिहरूलाई खादा र बुक्कीद्वारा सम्मान गरिएको थियो भने समापनअघि मायाको चिनो प्रदान गरिएको थियो ।
