अन्तरराष्ट्रिय सम्मेलन सफल बनाउन स्वयंसेवक बनौं ः उपकुलपति गौतम

सुर्खेत, बैशाख ३ गते । मध्यपश्चिम विश्वविद्यालयमा आयोजना हुन गइरहेको अन्तरराष्ट्रिय सम्मेलन–२०२६ लाई सफल बनाउन सिंगो विश्वविद्यालय परिवारलाई स्वयंसेवी भावनाका साथ सक्रिय हुन उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले आह्वान गर्नुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विहिवार बसेको सम्मेलन व्यवस्थापन समितिको बैठकलाई सम्वोधन गर्दै उपकुलपति प्रा.डा. गौतमले सरोकारवालालाई स्वयंसेवक वन्न आह्वान गर्नु भएको हो ।

सम्मेलनको मिति नजिकिँदै गर्दा हालसम्मको कार्यप्रगति समीक्षा गर्दै आवश्यक सुझाव तथा पृष्ठपोषण लिन आयोजना गरिएको सो बैठकलाई सम्बोधन गर्दै उपकुलपति गौतमले अन्तरराष्ट्रिय सम्मेलनलाई प्राज्ञिक मेलाका रूपमा व्याख्या गर्दै यसमा विश्वविद्यालयको समग्र छवि प्रतिबिम्बित हुने उल्लेख गर्नुभयो । उहाँले सहभागी र पाहुनाहरूले विश्वविद्यालयका हरेक गतिविधि नजिकबाट अवलोकन गर्ने भएकाले हाम्रा मनोवृत्ति र व्यवहार दुवै उच्च स्तरको हुनुपर्नेमा जोड दिनुभयो । यस अवसरमा निर्धारित समय अगावै सम्पूर्ण तयारी सम्पन्न गर्न उहाँले सम्बन्धित सबैलाई निर्देशन समेत दिनुभयो ।


उहाँले हालसम्म देखिएको टीम स्पिरिटप्रति समालोचनात्मक प्रशंसा व्यक्त गर्दै वास्तविक धन्यवाद भने सम्मेलन सफलतापूर्वक सम्पन्न भएपछि मात्र दिन योग्य हुने स्पष्ट पार्नुभयो ।

बैठकमा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापाले अन्तरराष्ट्रिय सम्मेलनलाई विश्वविद्यालयको साझा उत्सवका रूपमा लिँदै यसको सफलताका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले संस्थाको प्रतिष्ठा उँचो हुने गरी जिम्मेवार र परिपक्व कार्यसम्पादन गर्न सम्बन्धित सबैलाई सुझाव दिनुभयो ।

अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा समितिका सदस्य सचिव डा. विष्णुकुमार खड्काले गर्नुभएको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।


सूचना अधिकारी केसीका अनुसार बैठकमा विश्वविद्यालय सेवा आयोगका सदस्य सहप्रा. डा. अमृतकुमार शर्मा गैरे, सम्मेलन व्यवस्थापन समितिका सल्लाहकार समेत रहेका विभिन्न संकायका डीनहरू प्रा. चन्देश्वरप्रसाद श्रीवास्तव, सहप्रा. डा. राजन सुवाल, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. दिपकराज अधिकारी, कार्यकारी परिषद सदस्य उपप्रा. नारायणनाथ योगी लगायत सम्मेलन व्यवस्थापन समिति, प्राविधिक सहयोग समिति र अन्य आमन्त्रित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

बैैठकमा सम्मेलनका क्रममा पाहुनाहरूको स्वागत, सत्कारसँगै नेपाल र यस क्षेत्रको मौलिक सभ्यता र संस्कृतिको समुचित प्रस्तुति गर्नुपर्ने स्ुझाव पनि प्रस्तुत भएको सूचना अधिकारी केसीले वताउनुभयो ।

प्रकाशित मितिः 2026-04-16     8:36:01 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *