मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ३ गते हुने

सुर्खेत, १ असार ।
मध्यपश्चिम विश्वविद्यालयको वार्षिकोत्सवसँगै सिनेट बैठक तथा दीक्षान्त समारोह हुँने भएको छ । सिनेट बैठकमा वार्षिक बजेट, कार्यक्रम पारितसँगै एक हजार नौ सय अठ्ठाइस विद्यार्थी दीक्षित हुने भएका छन ।

मध्यपश्चिम विश्वविद्यालयको आसन्न वार्षिकोत्सव, विश्वविद्यालय सभा तथा दीक्षान्त समारोहको पूर्व सन्ध्यामा सोमवार वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरि उक्त जानकारी दिइएको हो ।

 

विश्वविद्यालयको स्थापना दिवसकै दिन असार ३ गते हुने १८ औँ विश्वविद्यालय सभा र चौथो दीक्षान्त समारोहका बारे जानकारी दिन सञ्चार तथा प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नारायणप्रसाद पौडेलले आगामी असार ३ गते आयोजना हुने उक्त समारोहको तयारी, उद्देश्य, सहभागिता तथा व्यवस्थापनका विविध पक्षबारे पत्रकारका जिज्ञासा उपर सम्बोधन गर्नुभएको थियो ।

उक्त सम्मेलनको अध्यक्षता गर्नुभएका प्रचारप्रसार उपसमितिका संयोजक एवम् योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले विश्वविद्यालयको आगामी आ.व. ०८३\०८४ को लागि बजेट, कार्यक्रम पारित हुने र ग्रेस लिष्टमा रहेका विभिन्न ग्र्याजुएट स्कूलका कूल १९ सय २८ जना विद्यार्थी दीक्षित हुने बताउनुभयो । उहाँका अनुसार स्नातक तहमा १२ सय २२ जना, स्नातकोत्तर तहमा ६ सय ९४ जना र दर्शनाचार्य तहमा १२ गरी १९ सय २८ जना दीक्षित हुनेछन् ।

कार्यक्रमको सञ्चालन प्रचारप्रसार उपसमितिका सदस्य एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले गर्नुभएको थियो।
कार्यक्रममा पत्रकारहरुका जिज्ञासा उपर उपकुलपति प्रा.डा.पौडेल सहित संयोजक डा.खड्का र अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले जवाफ दिनुभएको थियो ।

विश्वविद्यालयका सुचना अधिकारी शेरबहादुर केसीका अनुसार प्रचारप्रसार उपसमितिमा डा.खड्काको संयोजकत्वमा उपप्रा.त्रिभुवन वि.सी., उपप्रा.पञ्चदेव भट्ट, प्रशासन अधिकृत शेरबहादुर केसी र लक्ष्मीप्रसाद बाँस्तोला सदस्य रहेको पाँच सदस्यीय समिति रहेको छ ।

प्रकाशित मितिः 2026-06-15     10:29:48 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *