
दिपेन्द्र शर्मा
सुर्खेत,१६ असार–
कर्णाली प्रदेशमा बाली संरक्षण सम्बन्धी ज्ञान, अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदान गर्ने उद्देश्यले प्रदेशस्तरीय सिकाइ आदान–प्रदान तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार वीरेन्द्रनगरमा रहेको कृषि बजार व्यवस्थापन समितिको तालिम हलमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठीमा सहभागीहरूले कृषि सम्वन्धी कार्यान्वयन गरिएका सफल अभ्यास, चुनौती तथा समाधानका उपायहरू प्रस्तुत गर्दै आगामी दिनमा प्रदेशभर प्रभावकारी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
सिकाइ आदान–प्रदान कार्यक्रमले कृषि उत्पादन वृद्धि, वातावरणमैत्री खेती प्रणालीको प्रवद्र्धन तथा कृषकलाई गुणस्तरीय प्राविधिक सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशका प्रमुख परशुराम रावतले वताउनुभयो ।

एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशका प्रमुख परशुराम रावतको अध्यक्षता तथा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव संजीव कुमार कर्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशका प्रमुख परशुराम रावत, वाली संरक्षण प्रयोगशाला खजुरा बाँके , लुम्वीनी प्रदेशका प्रमुख शकिल अहमत, वाली संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुर सुदुरपश्चिम प्रदेशका प्रतिनिधि भक्तवहादुर पानले आ आफनो प्रदेशको बाली संरक्षण सम्बन्धी ज्ञान, अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदान गर्दै चुनौती तथा समाधानका उपायहरूसंग सम्बन्धीत कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको बाली संरक्षण अधिकृत तथा सुचना अधिकारी उषा अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न स्थानीय तथा जिल्लाबाट आएका कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक, कृषि विज्ञ, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बालीमा देखिने रोग तथा किराको व्यवस्थापन, आधुनिक बाली संरक्षण प्रविधि, सुरक्षित विषादीको प्रयोग, जैविक तथा एकीकृत बाली संरक्षण प्रणाली (IPM) लगायतका विषयमा अनुभव आदान–प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच प्राप्त सिकाइलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने तथा बाली संरक्षणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासहित गोष्ठी सम्पन्न भएको बाली संरक्षण अधिकृत अधिकारीले वताउनुभयो ।
