
सुर्खेत, ३१ साउन । जाजरकोटमा शनिबार साँझ गएको बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन । जिल्लाको भेरी नगरपालिका–२ रिसाङलगायतका विभिन्न स्थानमा गएको पहिरोमा परी उनीहरूको मृत्यु तथा घाइते भएको हो ।
पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका–२ रिसाङका ८४ वर्षीय रती खत्री र ५४ वर्षीय उमासिंह खत्री तथा चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र ५४ वर्षीय केदार कार्की रहेका छन ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार पहिरोमा परी घाइते भएका केदार कार्कीको थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रिसाङमा गएको पहिरोमा परी छ जना घाइते भएका छन । घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, चिसापानीकी भद्राकली कार्की, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक रहेका छन ।

डीएसपी पुरीका अनुसार घाइतेमध्ये रामबहादुर शाही, सिद्धिबहादुर कामी र भद्राकली कार्कीलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
यसैबीच, पहिरो प्रभावित क्षेत्रका ५ सयभन्दा बढी नागरिकलाई तत्काल उद्धार गरी रिसाङस्थित विद्यालयको फिल्डमा सारिएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा थप जोखिम रहेकाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।
प्रहरी, स्थानीय प्रशासन तथा स्थानीयवासीको समन्वयमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
