सरकारले वाढीपहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने

 

साउन ३१ काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका ४ जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न अध्ययन टोली पठाउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनका अनुसार कमान्ड पोस्टले ३ दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको हो ।

पहिरोका कारण जनधनेका क्षति भएको रोल्पा, जाजरकोट र बझाङ लगायतका जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।  विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१ अनुसार तत्काल राहत र घाइतेको निःशुल्क उपचार गराउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय निकायलाई पनि अनुरोध गरिएको उपसचिव शान्ति महतले जानकारी दिइन ।

कमान्ड पोर्टले अस्थायी आवास निर्माण, पुनर्निर्माण र पुनस्र्थापनालाई पनि कार्यविधि अनुसार तत्काल काम अघि बढाउन सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः 2026-08-16     3:48:27 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *