सुर्खेत, १३ माघ । कर्णाली प्रदेश सरकारले माघ १४–१५ गते सञ्चालन हुने प्रदेश समन्वय परिषद्को पहिलो बैठकको पूर्ण तयारी गरेको छ ।
प्रदेश सरकारले माघ १४ र १५ गते बिहान ७ः०० बजेदेखि शुरु हुने परिषद् बैठकको कार्यतालिका सार्वजनिक गरेको हो । विविध कारणले हुने नसकेको परिषद् बैठक यसअघि प्रदेश सरकारले असोज १९ र २० गते तोकेको थियो । आज सार्वजनिक गरेको कार्यतालिका अनुसार परिषद् बैठक दुई दिनसम्म राजधानी बीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठकमा कर्णाली प्रदेशका ७९ स्थानीय तह, १० जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, प्रदेशसभाका सदस्यहरु, विभिन्न क्षेत्रका विज्ञहरु गरेर ३९५ जनाको सहभागिता रहने सूचना अधिकारी उपाध्यायले बताए ।
समन्वय परिषद् बैठकमा प्रस्तुत हुने विषयहरु
परिषद् बैठकमा साझा अधिकारको प्रयोग, अन्तर प्रदेश समन्वय परिषद्को निर्णय कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मवारी र प्रशासनिक क्षेत्रको भूमिकाका विषयमा प्रशासन एवं कानूनविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन । त्यसैगरी, कानूनविद् दाहालले प्रदेश तथा स्थानीय तहले गर्ने काम कारवाहीका नीतिगत सामञ्जस्यता र संगठन व्यवस्थापनका बारेमा समेत प्रस्तुति राख्ने हुने सूचना अधिकारी उपाध्याले बताए ।
प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँड सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धको प्रस्तुति डा.बैकुण्ठ अर्याल र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूण्यप्रसाद रेग्मीले योजना तर्जुमा र कार्यान्वयनका चुनौतीहरुको बारेमा प्रस्तुति राख्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यतालिका अनुसार बैठकको दोस्रो दिन भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधान, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विके, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डी निरौला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट सचिव यज्ञराज बोहोराले मन्त्रालयगत प्रस्तुति राख्नेहुने जनाईएको छ ।