कर्णालीमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारी तीव्र


दीपेन्द्र शर्मा
सुर्खेत, १८ साउन /कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आवश्यक तयारी थालेको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा प्रादेशिक पर्यटन प्रवद्र्धन समिति गठन गर्नुका साथै भ्रमण वर्षसंग सम्बन्धित कार्यक्रमहरुको घोषणा गरेको हो ।
पर्यटन मन्त्रालयले राजु कार्कीको अध्यक्षतामा प्रादेशिक पर्यटन प्रर्वद्धन समितिको सचिवालय गठन गरेको छ । सचिवालय सदस्यहरुमा दिलबहादुर महत, देवराज जैसी, देवीकृष्ण रोकाया र सदस्य सचिवमा धीरेन्द्रकुमार प्रधानलाई चयन गरिएको छ । सचिवालयको मूल कार्यालय वीरेन्द्रनगर तथा सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गरिनेछ ।
समितिले भ्रमण वर्षका विभिन्न कार्यक्रम सञ्चालन गर्न विभागहरु गठन गरेको छ । प्रचारप्रसार विभागमा देवराज जैसी, होटल ट्राभल तथा टे«किङ व्यवस्थापन विभागमा जनकराज शर्मा, मानव संशाधन तथा समन्वय विभागमा देवीकृष्ण रोकाया, आर्थिक विभागमा लंकबहादुर शाही र सांस्कृतिक विभागमा दिलबहादुर महतलाई संयोजक तोकिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णालीका पर्यटकीय गन्तव्यहरुमा नियमित हवाइ सेवा सञ्चालनका लागि नेपाल वायु सेवा निगम र अन्य निजी क्षेत्रका एअरलाइन्सहरुसंग साझेदारी गर्ने विषयमा सङ्घीय सरकारसंग छलफल गर्ने बताउनुभयो । उहाँले यस अवधीमा प्रदेशस्थित राष्ट्रिय महत्वका २० र अन्तर्राष्ट्रिय महत्वका २० पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार गर्ने जानकारी दिनुभयो । ती स्थानहरुको सूची प्रदेश मन्त्रिपरिषद् बैठकले पारित गर्न बाँकी छ ।
‘कर्णालीको मौलिकता झल्किने गरी नेपाल भ्रमण वर्षको लोगो, नारा (स्लोगन) अंकित हवाइ टिकट, बस, सरकारी÷गैरसरकारी कार्यालयका लेटरप्याड प्रयोगमा ल्याई प्रचारप्रसारका विधिहरु प्रयोग गरिनेछ,’ मन्त्री बुढाले भन्नुभयो, ‘यसका लागि सङ्घीय सरकारका साथै प्रदेशबाट पनि बजेट विनियोजन गरिएको छ, कर्णालीलाई आर्कषक गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माण गर्छौं ।’
नेपाल भ्रमण वर्ष प्रादेशिक पर्यटन प्रर्वद्धन समितिले कर्णालीमा पर्यटक आर्कषण गर्न राष्ट्रियस्तरमा ख्यातिप्राप्त ५ जना ‘फ्रेन्डस् अफ कर्णाली’ दूतका रुपमा जिम्मेवारी दिने निर्णय गरेको छ । समितिले ती व्यक्तिको नाम भने टुंगो लगाइसकेको छैन् । समितिले आगामी भदौ २५ गते माथिल्लो डोल्पामा महोत्सव आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     9:27:09 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *