हुम्ला ३ असार/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाद्धारा घुम्ती आकस्मिक उपचार सेवा संचालन गरिएको छ ।
जिल्ला सदरमुकाम सिमकोट स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा रहेको स्याउ बगैंचामा घुम्ती आकस्मिक उपचार सेवाको शुरुवात गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा रहेको स्याउ बगैचामा रातो कमिला लाग्ने, फल झर्ने, पात झर्ने समस्या देखा परेपछि उक्त समस्या समाधान गर्न घुम्ती आकस्मिक उपचार सेवाको शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाका प्रमुख रामदरेश रायले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयको परिसरमा रहेको बगैचामा घुम्ती आकस्मिक उपचार सेवाको औपचारिक उदघाटन हुम्ला जिल्ला अदालतका न्यायधिश शम्भु बराल र जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले गर्नुभएको थियो । स्याउको बोटमा स्प्रे ट्यांकीले निलोथुठो कृषि चुनको घोल पानी स्प्रे गरेर घुम्ती आकस्मिक उपचार सेवाको शुरु गरिएको थियो ।
आकस्मिक स्याउ वाली उपचार सेवा कार्यक्रम हुम्ला जिल्ला अदालतका न्यायधिश शम्भु बरालको प्रमुख आतिथ्यतामा र जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको प्रमुख रायले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, क्याम्पस प्रमुख दीपक भण्डारी राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाका प्रबन्धक दीपक साह लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा वर्तमान कृषि प्रविधि वारे, यसको पहिचान, कार्यकमको औचित्य तथा किसानको समस्या समाधान लगायतका कृषि सम्बन्धी जानकारीमूलक विषयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, हुम्लाका प्रमुख रामदरेश रायले प्रकाश पार्नु भएको थियो ।