सुर्खेत १ असोज । सवारी चालक एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एशोसिएशनद्धारा विश्वकर्माबाबाको पूजा गरिएको हो । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री गमता विकले विश्वकर्मा बाबाको मुर्तीमा पूजा गरेकी छन ।
राज्यमन्त्री विकले पुजाको शुरुवात गरेपछि सवारी चालकहरुले संयुक्त रुपमा सवारीहरूको पूजा गरेको सवारी चालक एशोसिएशन कर्णाली प्रदेशका सदस्य कमलेश रिमालले जानकारी दिए । सरकारी तथा सस्थान सवारी चालक एशोसियशन कर्णाली प्रदेश समितिको आयोजनामा पुजा कार्यक्रम आयोजना गरिएको हो ।
रिमालका अनुसार विरेन्द्रनगरमा आयोजित कार्यक्रममा सरकारी र संस्थानमा आवद्ध सवारी चालकहरूले संयुक्त रूपमा विश्वकर्मा बाबाको पूजा गरेका छन् । जिल्ला समन्वय समितिमा रहेको सरकारी तथा संस्थान सवारी चालक एशोसियशनको कार्यालय परिसर अगाडि विश्वकर्मा बाबाको पूजा गरेका हुन् ।
विभिन्न मन्त्रालय, सरकारी र संस्थानका सवारी तथा एम्बुलेन्सहरु कार्यालय परिसरमा ल्याएर संयुक्त रुपमा पूजा गरिएको एशोसियशन कर्णालीका अध्यक्ष श्याम देवकोटाले जानकारी दिए । कर्णालीमा हाल ३४२ जना सवारी चालक एशोसियशनमा आवद्ध भएको र उनीहरुको हकहितमा काम गर्दै आएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, ८ नम्बर वडाध्यक्ष टीकाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ ।