नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न

साउन १९ काठमाण्डौ

२०८२ साउन १६ गतेदेखि सुरू भएको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक चार दिनसम्म व्यापक, गम्भीर र जीवन्त बहससहित सम्पन्न भई आज साउन १९ गते सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ।

बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको मान्यता सबैले अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। साथै, बैठकले निजी स्वार्थमा आधारित, पार्टी हितविपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहहरूको अन्त्य गर्ने सामूहिक संकल्प व्यक्त गरेको छ।

प्रतिगमन र यथास्थितिवादको विरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ। त्यस कार्यभार पूरा गर्न पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाइने निर्णय गरिएको छ।

साथै, नेकपा (विप्लव) लगायतका क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षा समेत गरिएको छ।

अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई २०८२ भदौको तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको छ। साथै, २०७९ सालको राष्ट्रिय महाधिवेशनको कार्यतालिका अन्तर्गत यस वर्षको दशैँपश्चात केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुंगो लगाइने निर्णय पनि बैठकले गरेको छ।

बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा समसामयिक राजनीतक प्रस्ताव गर्दै खबरदारी समेत गरेको छ ।

प्रकाशित मितिः 2025-08-04     10:29:00 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *