
२०८२ साउन २७ काठमाण्डौ
अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवा समुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । गरिबी, असमानता, जलवायु परिवर्तन, र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै यस वर्षको नारा समेत तय भएको सन्दर्भमा नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको छु ।
मलाई स्वयं आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अवसर प्राप्त भयो । ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै, हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौँ । हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो । गर्वका साथ भन्न चाहन्छु— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नै नेपालको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ।
माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको स्मरणीय नै छ । त्यही क्रममा, युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण पहलहरू सुरु गरियो । युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो। राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो । युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरियो । नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाइयो, जसले उनीहरूलाई आर्थिक सहायता मात्र होइन, बजारसम्मको पहुँच पनि उपलब्ध गरायो । त्यस्तै, वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रेरित गर्न रिटर्नी उद्यमी कार्यक्रम अघि सारियो, यद्यपि बिडम्बना, म पछिका सरकारले त्यसलाई निरन्तरता दिएन । यी सबै कार्यक्रम र योजनाहरू केवल कागजी घोषणामा सीमित भएनन्, बरु हजारौँ युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यासको रूपमा समेत विकसित भए ।
आजको दिनमा हामीले बुझ्नैपर्ने कुरा के हो भने युवाहरू भविष्यको नेतृत्व मात्र होइनन्, बरु उनीहरू वर्तमानमा नै राष्ट्र निर्माणका शक्ति हुन् । उनीहरूको ऊर्जाशीलता, सिर्जनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार हो। ।
यस अन्तर्राष्ट्रिय युवा दिवसमा, म सबै युवालाई आह्वान गर्दछु— आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाऔँ । युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याऔँ र परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ ।
२७ साउन, २०८२ (ने.सं.११४५ गुंलागा तृतिया)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
