जेन–जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या २१ पुग्यो , तीन सय वढि घाइते

काठमाडौं २३ भदौ । सोमवारजेन–जीको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

यसैगरी बानेश्वरस्थित एभरेस्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौं उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः 2025-09-08     11:13:01 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *