
काठमाडौँ, पुस ६ । नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ। कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गर्नुभएको हो ।
भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।
“तपाईँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन राम्रो भूमिका खेल्नुभएको छ,” बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भन्नुभयो, “तपाई जहाँ रहे पनि हामी असल मित्रको रुपमा सम्झिनेछौँ।”
सन् २०२५ नेपाल(चीन कूटनीतिक सम्बन्धको ७० औँ वर्ष भएकाले विभिन्न कार्यक्रमहरु भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू पनि केही कार्यक्रममा सहभागी हुने अवसर मिलेको बताउनु भयो।
दुई देशबीच कूटनीतिक सम्बन्धका साथै जनताबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अध्यक्ष दाहालले संसदीय अनुभव आदान प्रदानलाई पनि बढाउँदै लैजानु पर्ने बताउनु भयो।
सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
चीन नेपालको असल मित्र भएको र सदैव दुई देशले एक अर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको उहाँले बताउनु भयो ।
राजदूत सोङले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।
