मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६ भव्य रूपमा समुद्घाटन

शेरबहादुर केसी

सुर्खेत, बैशाख ११ । मध्यपश्चिम विश्वविद्यालयमा बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ शुक्रबार एक औपचारिक समारोहका बीच भव्य रूपमा समुद्घाटन गरिएको छ।

अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।

उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, देशभरका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रदेश योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिवहरू, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, अनुसन्धानकर्ता तथा स्वदेश–विदेशका विज्ञहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

मुलुकभरका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी,  नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकुमार थपलिया, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्ले, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. डा. कृष्णप्रसाद अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादव, सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. यज्ञराज भट्ट, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव सहित विभिन्न मन्त्रालयका सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्था एवम् साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, पदाधिकारी, अनुसन्धानकर्ता तथा स्वदेश–विदेशका विज्ञहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कँडेलले विश्वविद्यालय स्थापनाको कठिन संघर्ष सम्झँदै यसको विकास र विस्तारमा आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल रूपान्तरणको युगमा दीगो विकास हासिल गर्न बहुविषयगत सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । प्रविधि, शिक्षा, अर्थतन्त्र र समाजबीच समन्वय गरी नवीन समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भारतको उडिसास्थित ग्लोबल विरला विश्वविद्यालयका प्रतिनिधि डीन प्रा. डा. अर्चना चौधरी, जर्मनीबाट आमन्त्रित प्रमुख वक्ता प्रा. डा. सुसान्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्ले लगायत वक्ताहरूले यस्तो अन्तरराष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, अनुसन्धानको स्तर वृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनले नेपालमा डिजिटल रूपान्तरणका अवसर र चुनौतीबारे गहिरो बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। अप्रिल २४ देखि २६ सम्म सञ्चालन हुने सम्मेलनमा सात क्षेत्रमा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।

रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो ।

उद्घाटन सत्रलगत्तै आयोजक विश्वविद्यालयका उपकुलपति सहित देशभरका उपकुलपतिहरू सहभागी राउण्डटेबल छलफलमा विश्वविद्यालयका विद्यमान समस्या, चुनौती, सम्भावना र अवसरबारे उच्चस्तरीय प्राज्ञिक मन्थन भएको थियो। छलफलको सहजीकरण विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापाले गर्नुभएको थियो ।

सम्मेलनको प्राविधिक तथा समानान्तर सत्रअन्तर्गत सातवटा ट्र्याकमा विषयगत प्रस्तुतिहरू सञ्चालन गरिएको अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवं सम्मेलन व्यवस्थापन समितिका संयोजक यदुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः 2026-04-24     10:27:48 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *