रुकुममा पहिलोपटक आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन सम्पन्न

जेठ १६, रुकुम पश्चिम । रुकुम पश्चिमस्थित मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा पहिलोपटक आयोजना गरिएको दुई दिने बहुविषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

“कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षाका लागि उच्च शैक्षिक संस्थाको भूमिका” भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलन अनुसन्धानका विविध विषयमा गहन विमर्श गर्दै शनिबार सम्पन्न भएको हो ।

??????????????????

समापन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलले सम्मेलनबाट प्राप्त निष्कर्षहरूले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुसन्धान संस्कृतिको विकास गर्दै विश्वविद्यालय र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उपकुलपति पौडेलले सम्मेलनलाई क्याम्पस तथा विश्वविद्यालयको प्राज्ञिक यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा समेत व्याख्या गर्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सहप्रा. डा. दिपकराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. दीनबहादुर थापा, सम्मेलन आयोजक समितिका संयोजक तथा पूर्व क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम तथा विश्वविद्यालयका सूचना अधिकारी एवं पूर्व विद्यार्थी समाज मुसिकोट क्याम्पसका सचिव शेरबहादुर केसीले सम्मेलन निर्धारित उद्देश्यअनुरूप सफलतापूर्वक सम्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख डम्बरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।

विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा विभिन्न स्थानीय तह र शैक्षिक संस्थाहरूको सहकार्यमा सम्पन्न सम्मेलनमा देशभरका अनुसन्धानकर्ता, प्राध्यापक तथा विज्ञहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो । सम्मेलनले कर्णाली क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र समावेशी उच्च शिक्षाबारे महत्वपूर्ण बहसको थालनी गरेको आयोजकहरूले बताएका छन् ।

प्रकाशित मितिः 2026-05-31     8:57:05 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *