मध्यपश्चिम विश्वविद्यालयमा क्षमता अभिवृद्धि कार्यक्रम सुरु

सुर्खेत, जेठ १८ – मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न निकायमा कार्यरत शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरूका लागि रणनीतिक योजना विकाससम्बन्धी तीनदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ ।

योजना विकास तथा अनुगमन निर्देशनालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमको सोमबार वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समुद्घाटन गरिएको हो । कार्यक्रमको उद्देश्य विश्वविद्यालयका विभिन्न निकायसँग सम्बद्ध नेतृत्वलाई रणनीतिक योजना निर्माण तथा कार्यान्वयनमा सक्षम बनाउनु रहेको छ ।

कार्यक्रमको उद्घाटन उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलले मुल ब्यानर पढेर गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले उच्च शिक्षा संस्थाको गुणस्तर अभिवृद्धि, संस्थागत सुशासन तथा दिगो विकासका लागि रणनीतिक योजना अपरिहार्य रहेको बताउनुभयो । विश्वविद्यालयलाई समयानुकूल, प्रतिस्पर्धी, अनुसन्धानमुखी तथा परिणाममुखी संस्थाका रूपमा स्थापित गर्न शैक्षिक नेतृत्व र प्रशासनिक दक्षताको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।

उपकुलपति पौडेलले व्यक्तिको सोच, चिन्तन, कार्यशैली र व्यवहारमा सकारात्मकता तथा रचनात्मकता विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै संस्थागत विकासमा केन्द्रित हुन सहभागीहरूलाई आग्रह गर्नुभयो ।

 

विशेष अतिथि तथा विश्वविद्यालयका रजिस्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीले योजनाबद्ध कार्यसंस्कृति, उत्तरदायित्व र प्रभावकारी व्यवस्थापन विश्वविद्यालय विकासका आधार स्तम्भ भएको बताउनुभयो । उहाँले उच्च शिक्षा क्षेत्रका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्षम नेतृत्व, स्पष्ट रणनीति र संस्थागत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

 

कार्यक्रमका अध्यक्ष तथा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सहभागीहरूले उच्च शैक्षिक संस्थाको विकास, रणनीतिक योजना निर्माण, नेतृत्व विकास, संस्थागत सुशासन तथा प्रशासनिक व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण प्राप्त गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्का विज्ञ सदस्य प्रा. डा. चन्द्रप्रसाद रिजालले यस्ता तालिमले सहभागीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 

उद्घाटन समारोहमा विभिन्न ग्र्याजुएट स्कूलका डिनहरू सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. दिपकराज अधिकारी, सहप्रा. डा. करणसिंह धामी, कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली सहित प्राध्यापक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निर्देशनालयका प्रशासन प्रमुख तथा विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले गर्नुभएको थियो ।

उद्घाटन सत्रपछि प्रशिक्षक प्रा. डा. चन्द्रप्रसाद रिजालले रणनीतिक व्यवस्थापन, संस्थागत विकास तथा नेतृत्व सुदृढीकरणका विविध आयाममा केन्द्रित रही सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मितिः 2026-06-01     10:13:41 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *