दैलेखमा कृषक पाठशाला सञ्चालन, ३० कृषक लाभान्वित

 

सुर्खेत-कृषि उत्पादन वृद्धि तथा व्यावसायिक तरकारी खेती प्रवद्र्धन गर्ने उद्देश्यले नारायण नगरपालिका–२, कुसाडा दैलेखमा कृषक पाठशाला सञ्चालन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सुर्खेतको आयोजनामा २०८२ माघ ३ गतेवाट शुरु भएर २०८३ बैशाख २० गतेसम्म कुसाडा माल्ली आई.पी.एम. (एकीकृत बाली व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरिएको हो ।

१६ हप्तासम्म सञ्चालन गरिएको उक्त पाठशालामार्फत ३० जना कृषकहरूलाई आधुनिक कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा उत्पादन वृद्धि सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । पाठशालाले कृषकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गरी उत्पादन तथा आम्दानी बढाउने अपेक्षा राखेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख वरिष्ठ कृषि अधिकृत डा.धर्मराज गिरीले वताउनुभयो ।

पाठशाला अवधिभर सहभागी कृषकहरूलाई खेतबारीमा प्रत्यक्ष अवलोकन गराई बालीमा लाग्ने विभिन्न रोग तथा कीराको पहिचान, तिनको व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायबारे जानकारी प्रदान गरिएको थियो ।

साथै खेतबारी व्यवस्थापन, मल तथा सिँचाइ व्यवस्थापन, रोग–कीरा नियन्त्रण तथा फल टिपाइ र बजार व्यवस्थापनका विषयमा समेत व्यावहारिक प्रशिक्षण दिइएको प्रमुख गिरीले वताउनुभयो ।

पाठशालामा सहभागी कृषकहरूले विशेषज्ञ तथा सहजकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना जिज्ञासाहरू समाधान खोजेका थिए । यसबाट कृषकहरूको ज्ञान, सीप र निर्णय क्षमता अभिवृद्धि हुनुका साथै रोग तथा कीरा व्यवस्थापन सम्बन्धी व्यावहारिक सीप विकास भएको प्रमुख गिरीको भनाइ छ ।

कार्यक्रमबाट कृषकहरू आफ्नै खेतबारीको अवस्था विश्लेषण गरी उपयुक्त निर्णय गर्न सक्षम भएको, कृषकबीच अनुभव आदान–प्रदानको वातावरण सिर्जना भएको तथा व्यावसायिक खेतीप्रति थप उत्साह बढेको हुनाले कृषकहरूका लागि प्रभावकारी तथा उपलब्धिमूलक रहने हुदा आगामी दिनमा यस्ता कृषक पाठशालालाई निरन्तरता दिन आवश्यक रहेको प्रमुख गिरीले वताउनुभयो ।

समापन कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा. धर्मराज गिरी, पशु विकास अधिकृत पदम न्यौपाने,बाली संरक्षण बिज्ञ बेद प्रसाद चौलागाइ, कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डे लगाएतका कृषि विज्ञ तथा प्राविधिकहरुको सहभागिता रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः 2026-06-22     6:08:22 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *