
सुर्खेत ,१९ साउन —
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यासको अभावप्रति चासो व्यक्त गर्दै आवश्यक पहल गर्न निर्देशन दिएपछि उपभोक्ता हकहित संरक्षण कार्यालय, सुर्खेतले मंगलबार वीरेन्द्रनगरका ग्यास विक्रेताहरूमा बजार अनुगमन गरेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति घट्दै सिलिन्डरको चरम अभाव देखिएपछि मुख्यमन्त्री शाहीको पहलमा सरोकारवाला निकायबीच छलफल भएको थियो । त्यसलगत्तै गरिएको अनुगमनमार्फत बजारमा ग्यासको आपूर्ति, बिक्री–वितरण र अभावको वास्तविक अवस्थाबारे जानकारी संकलन गरिएको हो ।

उपभोक्ता हकहित संरक्षण कार्यालय, सुर्खेतका निर्देशक देवीलाल सापकोटाको संयोजकत्वमा सम्पन्न अनुगमनमा कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ तथा नापतौल तथा गुणस्तर कार्यालय सुर्खेतका प्रतिनिधिहरू सहभागी थिए ।
अनुगमनपछि संयोजक सापकोटाले वीरेन्द्रनगरमा ग्यास अभाव हुनुका पछाडि विभिन्न कारण रहेको बताए । उनका अनुसार छिन्चु, बड्डीचौर लगायतका साना बजार तथा आसपासका खुद्रा पसलमा ग्यास कम्पनीहरूले पहिलेझैं ग्यास पठाउन छाडेका छन । यसका कारण ती क्षेत्रका खाली सिलिन्डरहरू वीरेन्द्रनगरका डिलरमा फर्किन थालेका छन भने मागअनुसार आपूर्ति गर्न कठिन भएको छ ।

उनका अनुसार ग्यास कम्पनीहरूले विगतको तुलनामा निकै कम मात्रामा ग्यास पठाइरहेका छन । बजारमा देखिएको लामो लाइनमा विशेषगरी होटल व्यवसायीका कर्मचारी तथा कामदारहरूको उपस्थिति बढी रहेको पाइएको छ । ग्यास अभावको असर सबैभन्दा बढी विद्यार्थीहरूमा परेको अनुगमन टोलीको निष्कर्ष छ । विद्यार्थीबाहेक अन्य अधिकांश घरपरिवारमा भने ग्यासको समस्या त्यति गम्भीर नरहेको देखिएको समितिले जनाएको छ ।
संयोजक सापकोटाका अनुसार आधा भरिएका सिलिन्डर बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव हुने हल्ला फैलिएसँगै उपभोक्ताले आवश्यकताभन्दा बढी नयाँ सिलिन्डर खरिद गरेका थिए । ती आधा भरिएका सिलिन्डरहरू पहिले नै खाली भइसके पनि पूरा भरिएका सिलिन्डर मात्र लिन चाहने प्रवृत्तिका कारण खाली सिलिन्डर बजारमा नफर्काइएको र पछि एकैपटक सबै सिलिन्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको पाइएको छ ।
अनुगमन समितिले ग्यास आपूर्तिलाई सहज बनाउन विभिन्न सुझाव पनि दिएको छ । समितिले कर्णाली प्रदेशका सबै जिल्लामा कुन–कुन ग्यास कम्पनीले कति संख्यामा सिलिन्डर पठाएका छन् भन्ने तथ्याङ्क तत्काल संकलन गर्न, राप्ती ग्यास, मनकामना, सैपाल लगायतका कम्पनीहरूले विगतको आपूर्ति परिमाणलाई निरन्तरता दिन अनुरोध गर्न, बजारमा ग्यासको नियमित आपूर्ति भइरहने विषयमा सकारात्मक सन्देश प्रवाह गर्न, परिचयपत्रका आधारमा ग्यास वितरण प्रणाली लागू गर्न तथा वीरेन्द्रनगरबाट बाहिरिने नाकाहरूमा सुरक्षा निगरानी बढाई ग्यासको अनधिकृत ढुवानी नियन्त्रण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।
