सुर्खेतमा नेकपाको सन्देश सभा सम्पन्न

सुर्खेत २७ मंसिर । नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट घटकहरूबिचको एकतापछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘एकता सन्देश सभा’ सम्पन्न गर्‍यो ।

उक्त सभामा नेता, कार्यकर्ता र जनमासको उपस्थिती बाक्लै र उत्साहजनक थियो । सभालाई व्यवस्थित गर्न स्थानीय नेताहरू दुई साताअघिदेखि नै अहोरात्र खटिएका थिए । कर्णालीमा आयोजित यो सभालाई विशेष र ऐतिहासिक बनाउन एकता प्रक्रियामा सामेल शीर्ष नेताहरूले निकै कसरत गरे ।

यसको खास कारण थियो–माओवादीका प्रभावशाली नेता एवम् पूर्व उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ एकता प्रक्रियामा सहभागी नभई छुट्टै पार्टी गठनको तरखरमा लाग्नु । कुनै समय शर्माको एकछत्र प्रभाव रहेको यस भूगोलमा उनीबिनाको एकीकृत नेकपालाई जसरी पनि शक्तिशाली देखाउनु नेतृत्वका लागि प्रतिष्ठाको विषय थियो ।

सोही रणनीति अनुसार वीरेन्द्रनगर आसपासका भेगबाट समेत सर्वसाधारणलाई सभास्थलसम्म ल्याउन बसको व्यवस्थापन गरिएको थियो ।

नेताहरूको अथक दौडधुपको नतिजास्वरूप सभामा उपस्थिति बाक्लै देखियो । तर, मञ्चमा आसिन शीर्ष नेताहरूले भने आफ्ना परम्परागत र उही पुराना भाषणमै झण्डै पाँच घण्टा समय व्यतीत गरिदिए । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायतका नेताहरूले गरेको सम्बोधनको अधिकांश हिस्सा प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसको आलोचनामै खर्चिए ।

एकतापछिको पार्टीको भावी दिशा, रणनीति र उद्देश्यको स्पष्ट सन्देश जनताले पाउने अपेक्षा थियो । तर, विडम्बना ! नेताहरूको ध्यान त्यसतर्फ केन्द्रित हुनुको साटो आफ्नो विगतको बचाउ गर्न र अरूको उछित्तो काढ्नमै समय खेर गयो ।

सबैभन्दा लामो समय करिब ३० मिनेट मञ्च ओगटेका प्रचण्डले विशेषगरी जेनजीसँग आफ्ना विचार मिल्ने दाबी गरे ।

हालैका सडक आन्दोलनहरू आफू नभई कांग्रेस र एमालेका कारण उब्जिएको जिकिर गर्नमा उनले काफी समय लगाए । साथै कुनै बेला आफैँले विद्युत् प्राधिकरणमा भित्र्याएका कुलमान घिसिङप्रति उनी निकै आक्रामक रूपमा प्रस्तुत भए ।

आफू सत्तामा हुँदा गरेका कामको उदाहरण दिने क्रममा उनले भने, ‘हामीले नेतृत्व गर्दा गरेका राम्रा काम पनि सम्झिनु पर्दछ, हामीले गर्न नसकेका कमी–कमजोरी र सीमाहरूको पनि समीक्षा गर्नुपर्दछ । हामीले लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङ मुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त पूरा गरेकै हौँ । यसलाई नराम्रो त कसैले भन्न सक्दैन । भलै अहिले कुलमानले कुन विष खाएर जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरून् भन्न चाहन्छु । कुलमानको बुद्धि फिरोस् ।’

आफ्नै नियुक्तिका पात्रमाथि ‘बैगुनी’को आरोप लगाउँदै उनी मञ्चबाटै कड्किए ।

विगतमा माओवादको रापतापमा हुँदा प्रचण्ड आधार इलाकामा टेक्नासाथ युद्धका सहिद, घाइतेहरूलाई विशेष सम्बोधन गर्थे । तर, यस पटकको दृश्य फरक थियो । उनको भाषणमा विगतको त्यो आत्मीयता कम सुनिएको सहभागी एक कार्यकर्ताले बताए ।

कार्यक्रममा सहभागी एक सहिद परिवारका सदस्यले गुनासो पोखे, ‘उहाँले त अब माओवादी नै त्यागिसक्नुभयो जस्तो लाग्छ । सहिद परिवार, घाइतेहरू त केवल उहाँका लागि भाषण गर्ने अस्त्र मात्र रहेछन्, हाम्रा समस्या जस्ताको त्यस्तै छन् ।’

 

बरु प्रचण्डले मानिसहरूको भिड देख्दा खुसी लागेको भन्दै आफ्नो शक्ति कमजोर नभएको संकेत गरे । उनले अगाडि थपे, ‘आज तपाईं‌ कर्णालीवासी, पार्टीका नेता, कार्यकर्ता र आदरणीय जनसमुदायको अगाडि उभिएर मलाई ती दिनको याद आयो जतिबेला कर्णाली र सुदूरपश्चिमका कमरेडहरूले एकता तुरुन्तै गर्नु पर्‍यो, ढिलो गर्नु भएन भन्ने सुझाव दिनुभएको थियो ।’

उनले थप प्रस्ट्याए, ‘उहाँहरूले भन्नुभएको थियो–एकता गर्दा सुदूरपश्चिममा पनि र कर्णाली प्रदेशमा पनि हामी एक नम्बर पार्टी बन्छौँ भन्ने विश्वास पनि उहाँहरूले दिलाउनुभएको थियो ।’ पार्टी एकता सन्देश सभा सुदूरपश्चिमबाट सुरु गरेर काठमाडौँ बाहिरको अन्तिम सभा कर्णालीमा आइपुग्दा यहाँ देखिएको जनताको उत्साहपूर्ण उपस्थितिले आफूलाई ऊर्जा मिलेको उनले बताए । उत्साहित मुद्रामा उनले भने, ‘धनगढी र सुर्खेतको सभा हेर्दा यसले खाली एक नम्बर पार्टी हुने मात्रै होइन, सुदूरपश्चिम र कर्णालीमा हामीले एक इतिहासको रचना गर्न सकिन्छ, समाजवादी क्रान्ति सुरुवात गर्न सकिन्छ भन्ने दरिलो सन्देश तपाईं‌हरूले दिनुभएको छ ।’

उनले हरेक पटक कर्णाली आउँदा यही कुरा दोहोर्‍याउँदै आएका छन् । तर, व्यावहारिक रूपमा कर्णालीको विकासका लागि रणनीतिक भूमिका नखेलेको गुनासो यत्रतत्र सुनिन्छ । प्रदेश सरकार बनेपछि पनि लगातार माओवादी सत्तामा रह्यो, यद्यपि हरेक निर्वाचनमा उसको जनमत घट्दै गएको तथ्यांकले देखाउँछ ।

युद्धकालको जस्तो अहिले कर्णाली माओवादीको ‘किल्ला’ नरहेको नेकपाकै नेताहरूको स्वीकारोक्ति छ । शान्ति प्रक्रियापछि नेतृत्वले सहिद, घाइते परिवार बिर्सेको र धनदौलतमा लिप्त भएको आरोप कार्यकर्ताहरूले लगाउँदै आएका छन् ।

‘हिजो युद्धमा कहीँ रगत बग्यो भने, त्यो कर्णालीको हो भन्थे, युद्धलाई कर्णालीले मलजल गरेकै हो । अहिले आएर नेताहरूले माओवादी नै त्यागे, पार्टी क्षयीकरणमा गयो, टुटफुट भए,’ कार्यक्रममा सहभागी एक पूर्वलडाकुले रातोपाटीसँग दुखेसो पोखे, ‘सकेसम्म पार्टीभित्रको एकता आवश्यक थियो । हिजोकै हाम्रा कमाण्डरहरू अहिले यहाँ छैनन्, हिजो हामी विरुद्ध विष ओकल्नेहरू आज साथमा देखिए ।’

प्रचण्डले पुरानै भ्रष्टाचारविरुद्ध आफू लड्न थालेको दाबी गर्दै कर्णालीको प्रकृति र स्रोत साधनको परम्परागत व्याख्या गरे । तर आफूले कर्णालीका लागि ‘यो कामचाहिँ देखिने गरी गरेँ’ भनेर देखाउने कुनै ठोस उदाहरण उनीसँग थिएन ।

उनले जेनजीहरू नेकपामा आउन थालेको र उनीहरूको माग आफूहरूसँग मिलेको दाबी गरे । बरु मञ्चमा रहेका माधव, वामदेव र भीम रावललाई खुसी पार्न विगतका कुरा सुनाए । उनले भने, ‘ कमरेड भीम रावल, वामदेव गौतम यहाँ हुनुहुन्छ । तपाईं‌हरूलाई यो कुरा थाहा होला–हामी जनयुद्धको बेलामा आधार इलाकाका रूपमा रोल्पा हेडक्वार्टर थियौँ, त्यो बेला वामदेव र युवराज ज्ञवाली हामीसँग वार्ता गर्न आउनुभयो । र पहिलो पटक जनयुद्धको नेतृत्व गरिरहेको माओवादी र तत्कालीन एमालेका बिचमा ऐतिहासिक सहकार्यको पहिलो दस्ताबेज तयार गरियो ।’

 

उक्त दस्ताबेजमा माओवादीका तर्फबाट आफूले र एमालेका तर्फबाट वामदेवले हस्ताक्षर गरेपछि १२ बुँदे समझदारीको जग रोल्पाबाट बसेको उनले बताए ।

‘त्यसकारण यो नठानियोस्–अचानक यिनीहरू मिलेजस्तो हो कि ? यिनीहरूको राम्रो एक अर्काप्रति चिनजान छैन कि भन्ने भ्रम तपाईं‌हरूलाई परेको छ भने, झण्डै ४० वर्षदेखि लगातारका कहिले विमति, कहिले बहस, कहिले एकता, कहिले सहकार्य हुँदै–हुँदै ती सबैको समीक्षा गरेर अहिले फेरि हामीसमेत अन्य दर्जन कम्युनिस्ट/समाजवादी घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाइएको छ ।’

प्रचण्डले विगतको समीक्षामै समय बिताए । उनले युद्धका प्रमुख कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’लाई भने सम्झिएनन् ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि विगतमा आफूहरूले राम्रा कामहरू गरेको तर विपक्षीले ‘केही नगरेको’ भन्दै दुष्प्रचार गरिरहेको गुनासो गरे । छोटो बोलेका नेपालले सम्बोधनका क्रममा अबको पार्टी इमानदारहरूको हुने बताए ।

‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन सकिँदैन, ’ उनले भने, ‘त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौँ ।’ पूर्वप्रधानमन्त्री तथा नेता झलनाथ खनालले नेकपा एमालेलाई पनि एकता र समाजवादको बाटोमा आउन आग्रह गरे । एमाले पंक्तिलाई लक्षित गर्दै उनले भने, ‘एमाले महाधिवेशनमा भएका साथीहरूलाई भन्छु–आउनुहोस्, एकै बाटोमा अघि बढौँ । हामी एउटै कम्युनिस्ट शक्ति बनेर अघि बढ्नुपर्छ ।’

समाजवादको चर्चा, घुस नखाने पार्टी बनाउने संकल्प

प्रचण्ड र माधव नेपालले पार्टीको आगामी दिशाबारे नबोले पनि झलनाथ खनाल र वामदेव गौतमले भने ‘समाजवाद’ शब्दलाई बारम्बार दोहोर्‍याए । खनालले कुनै बाहिरी मोडलको नभई, नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने र नेकपाको लक्ष्य नै अब त्यही भएको उल्लेख गरे ।

‘पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिस्टहरू मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन,’ उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न सकिएको छैन । सबै जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य छ ।’

अर्का नेता वामदेव गौतमले त समाजवाद ल्याउनु नै अबको बाटो रहेको, नल्याए आफूहरूलाई जेलमा कोचिदिन भन्दै जनतालाई आग्रह नै गरे । सुरुमा आफू भाषण गर्दा ताली नआएको भन्दै कड्किएका गौतमले आक्रामक हुँदै भने, ‘हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईंहरुले हामीलाई जेलमा लगेर कोचिदिनुहोला । हामीलाई अब भाग्ने छुट छैन ।’

विगतमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार गरेका गौतमले जनतालाई भ्रममा नपार्न आफ्नै नेतृत्वलाई चेतावनी दिए । उनले भने, ‘जनतालाई ढाँट्नका लागि मात्र ‘समाजवाद, समाजवाद’ नभन्नुहोस् ।’

उनले सभामा तीन लाख मान्छे आएको दाबी पनि गरे ।

अर्का नेता नारायणकाजी श्रेष्ठले बरु नेकपालाई घुस नखानेहरूको पार्टी बनाउने संकल्प गरे । ‘भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने छ,’ उनले अगाडि भने । साथै, उनले माओवादी सरकारमा हुँदा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको तर कांग्रेस र एमालेलाई त्यो नरुचेको दाबी गरे ।

‘कांग्रेस र एमालेलाई सुशासन रुचेन, जसका कारण नेपालमा जेनजी आन्दोलन सुरु भएको हो,’ उनले भने ।

ओलीप्रति आक्रामक

प्रचण्ड, माधव नेपालजस्तै वामदेव गौतमले पनि ‘जेनजी’ आन्दोलन ओलीकै कारण भएको आरोप लगाए । अर्का नेता भीम रावलले त अधिकांश समय ओलीकै विरुद्धमा खर्चे ।

‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो, देशमा आगो लागेका बेला भाग्ने ?,’ उनले प्रश्न गरे, ‘जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’

उनले सम्बोधनका क्रममा कर्णाली प्रदेशका जल्दाबल्दा समस्याहरू पनि उठाए । उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याउ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको उनको भनाइ थियो ।

विशेषगरी अपर कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा बोल्दै उनले भारतीय कम्पनी जीएमआरको कडा आलोचना गरे ।

कर्णालीमा पहिलो पार्टी बन्ने अनौठो दाबी

जनमतका आधारमा कर्णालीमा संघीयतापछि माओवादी कहिल्यै न पहिलो दल बन्यो, न एक्लै चुनावमा गयो । कांग्रेस र एमालेहरू बलियो बन्दै गइरहेको अवस्थामा नेकपाका नेता प्रकाश ज्वालाले भने आगामी निर्वाचनमा कर्णालीमा नेकपा पहिलो पार्टी बन्ने अनौठो दाबी गरे ।

एता र उता गरेर भए पनि जहिले लाभकै पदमा बस्न रुचाउने ज्वाला, नेकपा कालमा आफ्नै पार्टी एमालेविरुद्ध ‘फ्लोर क्रस’ गरेर कर्णालीको राजनीतिमा बदनाम पात्र हुन् । पछि एकीकृत समाजवादीमा गएर पार्टी केन्द्रमै स्थान पाएका उनले मन्त्री बन्ने अवसर पनि पाए । तर, उनको दल समाजवादीको कर्णालीमा जनाधार खासै छैन ।

सभाको उपस्थितिलाई देखेर हौसिएका उनले भने, ‘आगामी निर्वाचनमा कर्णालीमा तारा उदाउने छ । नेकपाको लालकिल्ला कर्णाली हुने छ । कर्णाली विद्रोहको विगुल फुक्ने प्रदेश हो । क्रान्तिको विगुल फुक्ने पनि यही हो ।’

नेता शक्ति बस्नेतले पनि यस्तै आशयको छोटो भाषणमा मन्तव्य सकाए ।

(रातोपाटी)

प्रकाशित मितिः 2025-12-13     9:18:05 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *