
सुर्खेत, १२ बैशाख \ मध्यपश्चिम विश्वविद्यालय, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काद्वारा लिखित कविता संग्रह ‘म बनाउँछु मेरो देश’ को विमोचन गरिएको छ ।
विश्वविद्यालयद्वारा आयोजित अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा शनिवार वीरेन्द्रनगर, सुर्खेतमा आयोजित विशेष कार्यक्रममा उक्त कृतिको विमोचन प्राज्ञ, लेखक तथा अध्येताहरूको उपस्थितिमा विमोचन गरिएको हो ।
कार्यक्रममा सहभागी विद्वत् समुदायले कृतिले समकालीन समाज, राष्ट्रनिर्माण र युवापुस्ताको चेतनालाई अभिव्यक्त गरेको भन्दै यसको महत्वमाथि चर्चा गरेका थिए ।

विमोचन समारोहमा वक्ताहरूले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै खड्काको कृतिले सकारात्मक सोच, राष्ट्रिय भावनाको विकास तथा सिर्जनशीलताको प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कृतिबारे प्रकाश पार्दै देशप्रतिको जिम्मेवारीबोध र सिर्जनात्मक अभिव्यक्तिलाई केन्द्रमा राखेर कविता संग्रह तयार पारिएको डा. खड्कालले बताउनुभयो । उनले साहित्यमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने आफ्नो प्रयास रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका निवर्तमान मन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, भाषा, साहित्य र कला, संस्कृतिका विद्वान प्रा. डा. जीवेन्द्रदेव गिरी र प्रा. डा. रामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
