
सुर्खेत, २२ जेठ
विश्व वातावरण दिवस २०८३ को अवसरमा समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय प्रशासनिक भवन परिसर, वीरेन्द्रनगर सुर्खेतमा विरुवाको गोडमेलसँगै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रकृतिप्रति सम्मान र वातावरणीय स्वच्छताप्रति साझा जिम्मेवारीलाई आत्मसात् गर्दै शुक्रवार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीको नेतृत्वमा विभिन्न ग्र्याजुएट स्कूलका डीन, कार्यकारी निर्देशक सहित उपलब्ध शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा सो दिवस मनाइएको हो ।

कार्यालय परिसरमा रहेका विरुवाहरूको गोडमेल, सरसफाइ तथा हरियाली प्रवर्द्धनका गतिविधि सञ्चालन गरी दिवसलाई रचनात्मक बनाइएको छ ।

वातावरण संरक्षण मानिसको दैनिकीसँग जोडिएकाले प्रकृतिमैत्री विकासलाई संस्थागत रूपमा आत्मसात् गर्दै विश्वविद्यालयद्वारा दिवसका अवसरमा सकारात्मक सन्देशका रुपमा सरसफाइ कार्यक्रम आयोजना गरिएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।
यसैगरी भेरी बहुमुखी क्याम्पस गुमीले पनि दिवसका अवसरमा क्याम्पस परिसरमा सरसफाइ गरेको छ ।
