अन्तर व्यवस्थापिका सम्मेलन २०८३, कैलालीको टीकापुरमा शुरु

टिकापुर २३ जेष्ठ / अन्तर व्यवस्थापिका सम्मेलन २०८३ कैलालीको टीकापुरमा शुरु भएको छ ।

अन्तर व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा अन्तर व्यवस्थापिका सम्मेलन २०८३ कैलालीको टीकापुरमा शुरु भएको हो ।

अन्तर व्यवस्थापिका सम्मेलन २०८३का प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र विशिष्ट अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रुपमा पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो।

संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभा बीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्वका लागि नियमित रुपमा अन्तर व्यवस्थापिका सम्मेलन गरिएको हो।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरीले स्वागत गर्नुभएको थियो।

उद्घाटन समारोहमा सभामुख अर्याल, राष्ट्रिय सभा अध्यक्ष दाहाल, सुदूरपश्चिम प्रदेश सभाका विपक्षी दलका नेता खगराज भट्ट, सामाजिक विकास समिति सभापति धर्मराज पाठक, विशेषाधिकार समिति सभापति तुलसी देवकोटाले शुभकामना व्यक्त गर्नुभएको थियो।

उद्घाटन सत्रपछि संसदीय अभ्यास र कानुन निर्माण, डिजिटल पार्लियामेन्ट, कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, बजेट निर्माण प्रक्रिया लगायतका विषयमा छलफल हुने बताइएको छ। उक्त शेसनमा संविधान सभा सदस्य खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्वसचिव डा। सुरेन्द्र अर्याल, संघीय संसद सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, सूचना प्रविधि विज्ञ विनित सत्याल लगायतले सहजीकरण गर्नु हुनेछ।

प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारी, ६ वटा प्रदेश सभाका सभामुख र उपसभामुख, संघीय संसदका महासचिवसहित संघीय संसद र प्रदेश सभाका सचिवहरु सहभागी हुनुहुन्छ।

साथै संघीय संसदका पदाधिकारी तथा प्रदेश सभाका सभामुख उपसभामुखको अनुभव आदान प्रदानपछि आइतबार टीकापुर घोषणा पत्र सार्वजनिक गरि सम्मेलन समापन गरिनेछ।

प्रकाशित मितिः 2026-06-06     1:24:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *