मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न, १,९२८ विद्यार्थी दीक्षित

शेरबहादुर केसी

सुर्खेत, असार ३ — मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक चौथो दीक्षान्त समारोह, १८औँ सभा (सिनेट) बैठक तथा वार्षिकोत्सव बुधबार भव्य रूपमा सम्पन्न भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल ले विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार, बजेट तथा दरबन्दी व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बदलिँदो विश्व परिवेशअनुसार विश्वविद्यालयहरूले निरन्तर पुनर्मूल्याङ्कन र पुनर्संरचनामा ध्यान दिनुपर्ने बताउँदै मध्यपश्चिम विश्वविद्यालयले समग्र कर्णाली प्रदेशको शैक्षिक रूपान्तरणको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो। स्थापना भएको डेढ दशकको अवधिमा विश्वविद्यालयले उल्लेखनीय प्रगति गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

सिनेट बैठकलाई विशेष सम्बोधन गर्दै यमलाल कँडेल ले जनताको दशकौँ लामो संघर्षबाट स्थापित विश्वविद्यालयको विकास र विस्तारमा तीनै तहका सरकारको साझा दायित्व रहेको उल्लेख गर्नुभयो। विश्वविद्यालय अवस्थित स्थानीय तह तथा प्रदेश सरकारले सहयोगको सुरुवात गरिसकेको उहाँको भनाइ थियो ।

समारोहका प्रमुख वक्ता केदारभक्त माथेमा ले उच्च शिक्षाले व्यक्तिको जीवनस्तर मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत गतिशील बनाउने भएकाले उच्च शिक्षा संस्थाहरूको विकासमा सरकार र सरोकारवाला सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले विश्वविद्यालय स्थापनामा योगदान पुर्‍याउने उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको योगदानको स्मरण गर्दै विश्वविद्यालय स्थापना अभियानका एक अभियन्ता नै प्रमुख कार्यकारी नेतृत्वमा रहनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो। साथै, दीक्षित विद्यार्थीहरूलाई देश र समाजप्रतिको जिम्मेवारी कहिल्यै नबिर्सन आग्रह गर्नुभयो ।

समारोहमा सहकुलपति पोखरेलले विभिन्न ग्र्याजुएट स्कूलका १ हजार ९२८ विद्यार्थीलाई दीक्षित गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पदक वितरण गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. पौडेलले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा दीक्षान्त मन्तव्य प्रस्तुत गर्नुभएको थियो । सभाका सदस्य–सचिव तथा रजिष्ट्रार सहप्राध्यापक डा. अर्जुनबहादुर अयडी ले सिनेट बैठक तथा दीक्षान्त समारोह सञ्चालन गर्नुभएको थियो ।

१८औँ सिनेट बैठकले दीक्षित हुने विद्यार्थीहरूको ग्रेसलिष्ट पारित गर्नुका साथै रजिष्ट्रार अयडीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम आवश्यक संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मितिः 2026-06-17     10:08:49 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *