
शेरबहादुर केसी
सुर्खेत,१४ असार –
सुर्खेत स्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको पर्यटकीय गन्तव्य काँक्रेविहारको काखमा यसको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काँक्रेविहार पर्यटन प्रवर्द्धन महोत्सव–२०८३ आइतबार सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९, सुर्खेतको आयोजनामा वीरेन्द्रनगर सुर्खेत स्थित काँक्रेविहार परिसरमा सम्पन्न महोत्सवको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले काँक्रेविहार सुर्खेत मात्र नभई कर्णाली प्रदेशकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
उहाँले पर्यटन विकाससँगै स्थानीय उत्पादन, संस्कृति र रोजगारी प्रवर्द्धनमा यस्ता महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

आयोजक वडा अध्यक्ष ऋषि गिरीको अध्य्व्क्षतामा
सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी नारायण कोइराला,गणेशबहादुर ओली, पूर्व मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धर, पूर्व नगर प्रमुख देवकुमार सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त समारोहको संचालन उमाशंकर आचार्य र स्वागत मन्तव्य पुष्कर रोकायले गर्नुभएको थियो ।
महोत्सवको दोस्रो सत्रमा काँक्रेविहार इतिहास संस्कृति र पुरातत्वको बहुआयामिक विमर्शमा अध्येता एवं नेपाल सरकारका पूर्व वातावरण मन्त्री माधवप्रसाद चौलागाईं, प्रा. डा. जीवेन्द्रदेव गिरी र त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा. चन्द्रकला घिमिरेले आफ्नो धारणा राख्नुभएको थियो जसको सहजीकरण डा. रेशमबहादुर विष्टले गर्नुभएको थियो ।
यसैगरी अर्को सत्रमा डा. नवराज केसी र वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठले काँक्रेविहार पर्यटन प्रबर्द्धन र समुदायको भूमिका विषयक छलफलमा विचार राख्नुभएको थियो जसको सहजीकरण सञ्चारकर्मी प्रकाश अधिकारीले गर्नुभएको थियो ।
महोत्सव मार्फत काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य अनुरूप गत वर्षबाट महोत्सव आयोजना गर्न थालिएको उक्त कार्यक्रममा संयोजनकारी भूमिका निर्वाह गर्नुभएका डा. विष्णुकुमार खड्काले जानकारी दिनुभयो ।
महोत्सवमा काँक्रेविहारको खोज,अनुसन्धान र सम्भावनामा केन्द्रित रही विज्ञहरुका बीच विचार विमर्श गर्नुका साथै स्थानीय कला, संस्कृति, मौलिक परिकार आदिको प्रस्तुति गरिएको थियो ।
मान्नमी रिसर्च एण्ड पब्लिकेसन प्रालिको संयोजन तथा व्यवस्थापनमा आयोजित उक्त महोत्सवमा अध्येता, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पर्यटन व्यवसायी, नागरिक समाज, स्थानीयवासी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
