मप इन्जिनियरिङ केन्द्रीय विभागमा स्वागत तथा विदाइ कार्यक्रम

सुर्खेत, १ भाद्र  –

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङको सिभिल इन्जिनियरिङ केन्द्रीय विभागमा प्रशासन प्रमुख र लेखा प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका अधिकृतद्वयलाई सोमबार वीरेन्द्रनगर, सुर्खेतस्थित विभागमा आयोजित एक औपचारिक कार्यक्रमबीच स्वागत गरिएको छ । सोही अवसरमा विभागमा कार्यरत सहायक लेखालाई कदरपत्रसहित विदाइ गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, डीन कार्यालय तथा विभिन्न निर्देशनालयमा रही एक दशकभन्दा बढी समय प्रशासनिक अनुभव हासिल गर्नुभएका प्रशासकीय अधिकृत शेरबहादुर केसी र लेखा अधिकृत राजकुमार थापालाई विभागमा स्वागत गरिएको हो । त्यसैगरी, विभागमा कार्यरत सहायक लेखा शेरबहादुर सलामीलाई सेवाका क्रममा पुर्‍याउनुभएको योगदानको मूल्यांकन गर्दै कदरपत्रसहित विदाइ गरिएको छ। सलामीको ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट केन्द्रीय विभागमा सरुवा भएको छ ।

ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका प्रमुख इन्जिनियर सुरेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका प्रमुख इन्जिनियर कपिल बुढाथोकी, उपप्राध्यापक प्रकाश रेग्मी, नवआगन्तुक प्रशासन प्रमुख शेरबहादुर केसी र विदाइ हुने कर्मचारी शेरबहादुर सलामीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभागीय प्रमुखद्वय शाही र बुढाथोकीले प्रशासन तथा लेखा प्रमुखको नयाँ जिम्मेवारी लिएर आउनुभएका अधिकृतद्वयको ज्ञान, सीप र लामो प्रशासनिक अनुभवलाई विभागको समग्र शैक्षिक तथा प्रशासनिक कार्यसम्पादनमा प्रभावकारी रूपमा उपयोग गर्न उपयुक्त सहकार्यात्मक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरूले नवआगन्तुक अधिकृतद्वयलाई सफल कार्यकालको शुभकामनासमेत दिनुभयो ।

कार्यक्रममा विभागका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।  कार्यक्रममा नयाँ जिम्मेवारीमा आउनुभएका अधिकृतद्वयको कार्यकालमा विभागको प्रशासनिक तथा आर्थिक व्यवस्थापन थप प्रभावकारी र व्यवस्थित बन्ने विश्वास व्यक्त गरिएको थियो । विदाइ  कार्यक्रमको सञ्चालन कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रकाशित मितिः 2026-08-17     11:11:03 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *