आँप वेचेर कापीकलम


दिपेन्द्र शर्मा
सुर्खेत २८ असार । वराहताल गाँउपालीका ८ सुर्खेतकी हिमा रोकाया दिउसोको समयमा सुर्खेत– जुम्ला सडकमा आँप बेच्नमा व्यस्त हुन्छिन् भने विहानै उठेर कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा आवत जावत गर्नेहरुका लागी सडकमा आँप, केरा राखेको डालो वोकेर वेच्न पुग्छीन ।
दिन भरि आँप केरा वेचेर कमाएको पैसाले उनि आफना कापी कलम किन्छीन । २० माने डालोमा आँप र केरा वोकेर दैनिक यो सडकको छेउमा पुग्ने हिमा रोकायाको कमाइ दैनिक ८ सय भन्दा वढी नै हुन्छ । श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय वराहताल ८ सुर्खेत कक्षा ५ मा पढ्दै गरेकी हिमा स्कुलमा पढ्दा चाहिने कापी कलम र नयाँ लुगा किन्ने पैसा कमाउनका लागि स्कुलको पढाइ छोडेर वजार तिर आँप केरा वेच्न आउछिन् । आफनोे पढाइको लागि कापी कलम र ड्रेस किन्ने पैसा कमाउनका लागि लामो दुरीका यातायात संचालन हुने वराहताल गाँउपालीकाको ओदाल ताल नजिक आँप केरा वेच्न लागेको हिमा वताउछिन ।
घरको आर्थिक अवस्थाका कारण कापी कलम किन्न र स्कुल ड्रेसको जोहो गर्न समेत समस्या परेपछि उनी आँप केरा विक्रि गर्न लागेकी हुन् । हिमा मात्र होइन सोहि विद्यालयको कक्षा ४ मा पढ्ने सपना रोकाया पनि साथीहरुसंग विहान वेलुका गएर डालो भरि आँप जम्मा गर्ने अनि सुर्खेत –जुम्ला सडक अन्तरगतको वराहताल वड्ढीचौर खण्डको जंगल छेउ तिर यात्रुहरु लाई वेच्न पुग्छीन ।
वर्षाको समय भएकोले गाँउका ठुला मान्छे संगै लाइन लागेर वाटोमा आँप केरा वेच्न वसेका हुन्छन उनिहरु । स्कुलमा पढाइ सुरु भए पनि कापी कलम र नयाँ स्कुल ड्रेस किन्न आफुले साथीहरु संगै विहान वेलुका आँप र केरा लिएर सडकमा वेच्ने गरेको सपनाले वताइन । स्कुलमा पढदै गरेकी हिमा र सपना कापी कलम तथा ड्रेस किन्ने पैसाको लागी वाटोमा आएर आँप वेच्न थालेको उनिहरु वताउछिन ।


अहिले हिमा र सपना मात्र होइन कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगर वाट पश्चिम सुर्खेत हुदै दैलेख जुम्ला जाने सडकहरुका वरिपरिका दर्जन वढी गाउँका स्कुले विद्यार्थीहरु आँप ,मकै, केरा लगाएतका वस्तुहरु विक्रि गरेर कापी कलम स्कुल ड्रेसको जोहो गरिरहेका छन् । कोहि लाइ घरका आमा वुवा र अन्य अभिभावकले आँप वेच्न पठाउने गरेको र केहि वालवालिकाहरु आफै दुइ चार पैसा कमाउने उद्देस्यले आँप , मकै, केरा वेच्न लागेको वराहतालका स्थानीय ताराकेशर गौतमले वताउनुभयो । घरको आर्थिक अवस्था कम्जोर भएका वालवालिकाहरु वाध्यता र रहर दुवैका कारण आँप,केरा मकै वेच्न लागेको गौतमले वताउनुभयो । यातायात संचालन भएका सडकहरुमा स्कुले वालवालीकाहरु गाँउमा उत्पादन भएका विभिन्न कृषि वस्तु वेचेर राम्रो आम्दानी गर्दै घरमा नुन,तेल,चामल तथा दालको जोहो गर्ने गरेका छन । पश्चिम सुर्खेतको वराहताल, वडडीचौर, ओदालताल लगाएतका गाउँका स्कुले वालवालिकाहरु आँप वेचेर कापीकलम र घरायसी सामाग्रीको जोहो गर्न लागेका छन ।
यो समयमा स्कुलका अधिकांश विद्यार्थीहरु गाँउमा उत्पादीत विभिन्न कृषि वस्तुहरु टिपेर वजारमा विक्रि गर्दै पढाइ खर्च उठाउन लागि परेका छन । कर्णाली प्रदेशको राजधानी संग जोडिएको वराहताल गाँउपालीकाको सडक खण्डहरुमा विक्रि हुने आँपको मुल्य प्रति दाना १० देखि २० रुपैया रहेको र एक जना वालक या वालिकाले दैनिक कम्तीमा एक सय देखि दुइ सय दाना तथा वारीमा पाकेको मकै लाई प्रति मकै रु.१० देखि रु.२० सम्म विक्रि गर्ने गरेको वराहतालका स्थानीय ज्योति विकले वताउनुभयो । पहिले आँप,केरा ,मकै वेच्न प्रौढअवस्थाका महिला र पुरुष आउने गरेको भएपनि अहिले भने स्कुले वालवालिकाहरु नै कृषिवस्तुहरु विक्रि गर्न आउने गरेको विकको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०७५     12:59:39 AM