जाजरकोटका पहिरो पिडितलाई राहत वितरण

दिपेन्द्र शर्मा
सुर्खेत २३ साउन /जाजरकोट सदरमुकाममा गएको पहिरोमा परि आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । गत आईतवार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले पिडित परिवारलाई जनही एक लाखको चेक हस्तान्तरण गरेका छन् । पहिरोमा परि ज्यान गुमाउनेको क्षतिको पैसाले परिपुरण नहुने भन्दै सरकार सधै पिडित सँगै रहेको प्रजिअ वस्नेतले बताए । पहिरोमा छोरी गुमाएका तिर्थराज बोहरा, छोरा गुमाएका कुशे ६ भार्माका प्रेम परियार र कृष्ण परियार लाई जनही एक एक लाख , तीन छोरी र श्रीमति गुमाएका भेरी ६ गंगटियाका लालबहादुर लुहारलाई एक मुष्ट चार लाख रुपैयाको चेक हस्तान्तरण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।
प्हिरोमा परि बेपत्ता भएका कुशे ५ का गोविन्द परियार अझै हराईरहेकाले बेपत्ताको एकिन भएपछि मात्र केही दिन पछि राहत दिईने प्रजिअ बस्नेतले बताए । प्रजिअ वस्नेतका अनुसार घर पुरिएका परिवारको आवास ब्यवस्थापनका लागी तिर्थराज बोहरा र गोपाल सुनारलाई जनही दश हजारका दरले रकम प्रदान गरिएको छ । यस अघि मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट २५ हजार र भेरी नगरपालिकाको तर्फबाट ३० हजारका दरले राहत प्रदान गरिएको थियो । पहिरोका कारण विस्थापित भएर सदरमुकाम स्थित बृद्धाश्रम केन्द्रको भवनमा बस्दै आएका ७ घर परिवारलाई कुशे गाँउपालिका र स्थानिय प्रशासनले खाद्यन्न तथा लत्ता कपडा सहयोग गरेको छ ।

रेडक्रसद्धारा गैरखाद्य सामग्री प्रदान
रेडक्रस जाजरकोटले पनि पहिरो पिडित परिवारलाई गैरखाद्य सामग्री प्रदान गरेको छ । पहिरो पिडित पाँच परिवारलाई त्रिपाल, कम्मल, लत्ताकपडा, भाडावर्तन, बाल्टी लगायतका गैरखाद्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री हरिवहादुर बस्नेतले बताए ।
आइतवार विहान गएको पहिरोले पुरेका एकै घरका चार जना सहित आठ जनाको मृत्यु भएको थियो । भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली लुहार, उनका छोरीहरु १० वर्षीय रञ्जना लुहार , ७ वर्षीय मनिसा लुहार, र ३ वर्षीय भगवती लुहार, कुशे गाँउपालीका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार कुशे ६ का ११ वर्षीय नवीन परियार र वारेकोट गाँउपालीकाका तिर्थ वोहराकाकी छोरी नजम वोहराको मृत्यु भएको थियो ।
भेरी नगरपालिका वडा नं. ३ ठाटीवजारवाट पानीनाउला जाने वाटोमा रहेका गोपाल नेपाली र तिर्थराज बोहराको घरमा पहिरो जाँदा भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारको जीवितै उद्धार गरिएको थियो । पहिरोमा परि आठ जनाको ज्यान गएको छ भने एक बालक अझै हराईरहेका छन् । पहिरोको जोखिम बढेपछि सात घर विस्थापित भएका छन् ।
गोविन्द अझै भेटिएनन्
जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो परि बेपत्ता भएका गोविन्द परियार अझै भेटिएका छैनन ।
होमवर्क गरिरहेका वेला पहिरोमा परि बेपत्ता भएका कुशे गाँउपालीका ५ जाजरकोटका ८ वर्षीय गोविन्द परियार बुधवार सम्म अझै भेटिएका छैनन् ।
आइतवार वुधवार सम्म दिनभर खोजतलास गर्दा पनि अहिले सम्म भेटिन नसकेको प्रजिअ वस्नेतले जानकारी दिए । नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनाले घटना स्थलमा गोविन्दको खोजिकार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी वस्नेतले बताए ।

प्रकाशित मितिः 2018-08-08     12:47:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *