वीरेन्द्रनगरको खानेपानी समस्या हल गर्न भेरीको पानी ल्याउने


दिपेन्द्र शर्मा

सुर्खेत २९, मंसिर  /कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना अगाडी ल्याइएको छ ।
प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो ।
डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन ।
विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था) ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन ।
वीरेन्द्रनगरको खानेपानी आयोजना प्रदेश सरकारको पहिलो प्रथामिकताको आयोजना भएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाल वताउनुभयो । प्रदेश राजधानीको विकास प्रदेश सरकारको पहिलो प्राथमिकता भएकोले यो आयोजनामा प्रदेश सरकारको पहिलो लगानी हुने मन्त्री ज्वालाले प्रतिवद्धता जनाउनुभयो । प्रदेश राजधानीको विकासका लागी कर्णाली प्रदेश सरकारले रु एक अरब रकम छुटयाएको जानकारी दिनुभयो । आयोजना ठुलो र वृहत भएकोले संघिय सरकारले नेतृत्व लिनुपर्ने ज्वालाले वताउनुभयो । संघिय सरकारको नेतृत्वमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले काम गर्नुपर्ने र त्यसका लागी आवश्यक वजेट चालू आर्थिक वर्षमै प्रदेश सरकारले ब्यवस्था गर्ने मन्त्री ज्वालाले वताउनुभयो ।
प्रदेशको मुटुमा रहेको ठुलो तथा वहुप्रतिक्षीत खानेपानी आयोजना भएकोले लामो समयको लागी योजना निमार्ण गरिएको खानेपानी विभागका उपमहानिर्देशक सुर्यराज कंडेलले वताउनुभयो । प्रदेश राजधानीको खानेपानी समस्या दिर्घकालिनरुपमा समधान गर्न यो आयोजना परिकल्पना गरिएको उहाँले वताउनुभयो । उहाँका अनुसार पानी तान्ने ठाँउको जग्गा सहजरुपमा उपलब्धता भएमा आयोजना छिटोछरितो कार्यान्वयनमा जानेछ । जग्गा प्राप्ती हुन नसकेमा पुन यसको विकल्प खोजेर प्रोजेक्ट तयार हुने तथा केही समय लाग्ने उहाँले वताउनुभयो ।
तिन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने उहाँको भनाईछ । जलवायु अनुकुलन वृहत खानेपानी आयोजना अन्तरगत भएकोले यसमा १० प्रतिशत सहभागीता चाहिने कंडेलको भनाइछ । यहाको जग्गा, रकमको स्रोत लगाएतका काम टुंगीएमा तत्काल प्राविधिकहरुले फाइनल डिजाइनको काम गर्ने जानकारी दिनुभयो ।
संघिय सरकारले नेतृत्व गरेको वृहत खानेपानीमा प्रदेश सरकारसंगै नगरपालिका पनि सहयोग गर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रतिवद्धता जनाउनुभयोे । कामको विभाजन गर्दा नगरपालिकाले गर्नुपर्ने कामको जिम्मेवारी नगरपालिकाले लिने भन्दै आवश्यक वजेट, जग्गा प्राप्तीमा सहजीकरण लगाएका काममा साझेदारी गर्न नगरपालिका तयार रहेको प्रमुख सुवेदीले वताउनुभयो ।
अव अध्ययनमा मात्र सिमित नभइ कार्यान्वयनमा जानुपर्ने वीरेन्द्रनगरका स्थानीयवासीले सुझाव दिएका छन । तिन तहका सरकारको समन्वयमा वीरेन्द्रनगरको खानेपानी समस्या समधान गर्नुपर्ने वीरेन्द्रनगर नगरपालीका वडा नं ११ का अध्यक्ष नन्दलाल शर्माले वताउनुभयो । आयोजना बने वीरेन्द्रनगरमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने उहाँले वताउनुभयो ।
वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागी योजना तयार गरिएको अध्ययन टोली सदस्य तथा विज्ञ प्रसान्त मल्लले वताउनुभयो । वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकोमा यो योजना निमार्ण भए २४ वटा स्किम रहने मल्ले वताउनुभयो । वीरेन्द्रनगरमा सहजरुपमा पानी ब्यवस्थापन गर्न भेरीवाट ७० प्रतिशत पानी आपुर्ती हुने वाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलावाट आपुर्ती हुने उहाँले वताउनुभयो ।
अहिले तयार पारेको रिर्पोट अनुसार करिव ६ अरब रकम लाग्ने अनुमान गरिएको छ । भेरीनदिमा निमार्ण हुने टयाकीको लागी रु ५० करोड,मुहानवाट अमृतडाडा सम्मका लागी एक अरब ५० करोड तथा वीरेन्द्रनगर उपत्यका भित्र विस्तारका लागी चार अरब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार भेरी पुल नजिकै इन्टेक निर्माण गरी पानी पम्पिङ गरिनेछ । अमृतडाँडामा रिजर्भ ट्यांकी निर्माण गरी उपत्यकामा पानी वितरण गरिने योजना छ । राजमार्गको छेउ हुदै ७ किलोमिटर दूरीमा रहेको अमृतडाँडामा पाइप विस्तार गरेर भेरी नदीबाट पानी पम्पिङ गर्ने योजना छ । भेरी नदिवाट चार सय मिटरमा एक मुहान र एक विचमा गरेर २ वटा पम्पको प्रयोग गरेर काम हुनेछ । पहिलाको भन्दा ५ सय ७४ मिटर माथी लेकवेशी नगरपालिकाको भागमा पर्ने जमिनमा काम हुने छ ।
उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना वनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो । भेरीको पानी उपत्यकामा नल्याएसम्म खानेपानी संकट समाधान गर्न नसकिने उहाँको तर्क छ । यस कार्यमा वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने देवकोटाको भनाइ छ । प्रदेशको राजधानी तोकिएर जनसंख्या वृद्धि तथा बसोबासमा वृद्धि हँुदा समेत पनि पुरानो जनसंख्याका लागि व्यवस्था गरिएको एक करोड दश लाख लिटर पानी उपलब्ध छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन नपुग रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ३०, २०७७     1:35:31 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *