काठमाडौँ । माओवादी घटक दलहरूले द्वन्द्वकालीन घटनाको विषयमा ३० गते संयुक्त अन्तरक्रिया गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको माओवादी घटकको बैठकले शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरूसँग संयुक्त अन्तक्रि गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाले फागुन २८ गते माओवादी घटकले संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय भएको बताए । बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी माओवादी)का सिपी गजुरेल, नेकपा महासचिव बिप्लव खड्गबहादुर विक प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
यसबीचमा बिहीबार सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ।