राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू


सुर्खेत, १७ फागुन । आजदेखि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सो आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
गत भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, संख्या ३२ मा प्रकाशित आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई लाग्नेछ ।
त्यस्तै, राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १७, २०७९     9:05:03 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *