
सुर्खेत, ७ पुस / मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि आवश्यक कार्य गर्न पहिलोपटक एमयू ग्लोबल र्याङ्किङ अपरेसन कमिटी (MU GORC) गठन गरेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको संयोजकत्वमा सदस्यहरु डा. विष्णुकुमार खड्का, डा. पुष्पराज आचार्य, डा. रेशमबहादुर विष्ट, डा. दिक्पालकुमार शाही, डा. भीमबहादुर खड्का, डा. अनुप बस्नेत क्षेत्री र सदस्य- सचिव शेरबहादुर केसी रहेको आठ सदस्यीय समिति गठन गरिएको हो ।

संयोजक ज्ञवालीको अध्यक्षतामा नवगठित समितिको प्रथम बैठक सोमवार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । वैठकले विश्वविद्यालयलाई QS World University Ranking मा आवद्ध गराउने कार्य प्रक्रिया अघि बढाउने उद्देश्य अनुरूप आवश्यक कार्ययोजना सहित कार्यविभाजन गर्ने निर्णय गरेको सदस्यसचिव शेरबहादुर केसीले जानकारी दिनुभयो ।
सदस्यसचिव केसीका अनुसार वैठकमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले सदस्यहरुसँग अन्तरक्रियात्मक छलफल गर्दै समितिलाई मार्गनिर्देश गर्नुभएको थियो ।

अध्ययन अनुसन्धान, प्रकाशन, अन्तर्राष्ट्रिय सहकार्य, सुशासन, प्रविधि, संस्थागत सुधार लगायत विश्वविद्यालयको समग्र शैक्षिक प्रशासनिक अवस्था जस्ता विभिन्न निर्धारित सूचकहरूमा केन्द्रित भई आगामी २०२७ मा र्याङ्किङका लागि तयारी तीव्र पार्ने निष्कर्ष बैठकले निकालेको सदस्यसचिव केसीले वताउनुभयो ।
