
सुर्खेत, १० वैशाख \ उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ स्थापना गर्ने सम्झौता भएको छ ।
बिहीबार विश्वविद्यालयमा आयोजित कार्यक्रममा दुई करोड दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार उक्त कोषमार्फत स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ । यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीका अनुसार उपकुलपति गौतमको अध्यक्षता तथा नगर प्रमुख ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व वहन गर्नुपर्ने बताउँदै प्रदेश राजधानीको नगरपालिका भएकाले सबै क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
उपकुलपति गौतमले विश्वविद्यालयलाई समुदायसँग जोड्ने तथा स्थायी कोष (एन्डोमेन्ट फन्ड) निर्माणका लागि कार्यविधि पारित गर्न पहल गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार र विश्वविद्यालयबीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनाल, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, ग्र्याजुएट स्कूलका डीन, पदाधिकारी, प्राध्यापक, कर्मचारी, स्ववियु अध्यक्ष लगायत सरोकारवालाहरूको उपस्थिति रहेको सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।
